'आइएसको कब्जाबाट इराकी नगर हविजा मुक्त'

  • 5 अक्टोबर 2017
तस्वीर कपीराइट AFP
Image caption इराकको सरकार समर्थक फौजले हालैका महिनामा आइएसविरुद्धका लडाईँमा प्रगति गरिरहेको छ।

इराकी प्रधानमन्त्री हैदर अल-अबादीले, इस्लामिक स्टेट लडाकू समूह-आइएसको कब्जाबाट हविजा नगरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेका छन्।

हविजा, इराकभित्र आईएस समूहको पकडमा रहेका अन्तिम दुई इलाकामध्येको रहेको एक प्रमुख नगर हो।

यस विजयपश्चात् अब इराकभित्र सिरियाली सीमा नजिक रहेको मरुभूमिको एक भूभागमा मात्र आइएस समूहको नियन्त्रण छ।

कारबाही

हविजा नगरलाई पुनः नियन्त्रणमा लिन दुई हप्ताअघि मात्र ईराकी फौजहरुले कारबाही शुरु गरेका थिए।

उक्त कारबाहीका क्रममा अमेरिकी गठबन्धनले हवाई हमला गरेर सहयोग गरेको थियो।

यस्तै शिया लडाकूहरुले पनि साथ दिएका थिए।

सोही सैन्य कारबाहीको कारण हविजालाई आइएस लडाकू समूहको कब्जाबाट मुक्त गर्न सकिएको इराकी प्रधानमन्त्री अल-अबादीले बताएका छन्।

'विजय'

हाल फ्रान्सको भ्रमणमा रहेका अल-अबादीले बिहीबार बिहान प्यारिसमा फ्रान्सेली प्रधानमन्त्री एम्यानुअल माक्रोँसँगको भेटवार्तापछि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा 'यो इराकको मात्र नभई सारा विश्वको नै विजय भएको' भनी टिप्पणी गरेका छन् ।

तर यो विजय, उनकै शब्दमा, केही मानिसले आफूहरुलाई संकटमा धकेल्न खोजिरहेका प्रयासहरुका अतिरिक्त पनि प्राप्त भएको बताएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption इराकी प्रधानमन्त्री हैदर अल-अवादीले आफूले कुर्दसँग सशस्त्र मूठभेड गर्न नचाहेको बताएका छन्।

उनको भनाइ गत हप्ता बग्दाद र अन्तर्राष्ट्रिय समुदायबाट भएका विरोधका माझ पनि कुर्दिस्तान क्षेत्रीय सरकारले इराकबाट अलग हुन गरेको जनमत संग्रहतर्फ लक्षित थियो ।

९० प्रतिशतभन्दा धेरै मतदाताले इराकबाट अलग हुने पक्षमा गरेको परिणाम कुर्दिस्तान सरकारले रद्द गरोस् भन्ने अल-अबादी चाहन्छन् अन्यथा कडा प्रतिबन्धहरु, अन्तर्राष्ट्रिय स्तरमै एक्लो बनाइने र सम्भावित सैन्य हस्तक्षेपको सामना गर्नुपर्ने बताएका छन् ।

नियन्त्रण कायमै

उत्तर र पश्चिम इराकका धेरै भूभागलाई नियन्त्रणमा लिने क्रममा सन् २०१४ को जुन महिनामा उक्त हविजा नगरलाई आईएसले कब्जामा लिएको थियो ।

तर सरकारी फौजहरु मोसुलको उत्तरतर्फ अघि बढेपछि आइएसले नियन्त्रणमा लिएका अन्य भूभागबाट हविजा नगरको, झण्डै एक वर्षसम्मका लागि सम्पर्क टुटेको थियो।

हविजा नगरको पूर्वतर्फ रहेको केही गाउँहरु मात्र अब आइएसको कब्जामा रहेको विश्वास गरिएको छ ।

हाल छिमेकी देश सिरियामा रहेको डेर अल जुर प्रान्तस्थित उपत्यकाको धेरै भूभागहरुमा उक्त लडाकू समूहको नियन्त्रण कायमै छ ।

तर सिरियाली सरकार पक्षधरका फौजहरु तथा अमेरिकी गठबन्धनले समर्थन गरेको कुर्द र अरब लडाकूहरुको दबाबमा उक्त जिहादी समूह आइएस रहेको ठानिएको छ।