राजपा र समाजवादी फोरमले संयुक्त चुनाव लड्ने

  • 6 अक्टोबर 2017
तराई केन्द्रित दल

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक अर्काको प्रतिस्पर्धीका रुपमा लडेका तराईकेन्द्रित प्रमुख दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त रुपमा चुनावमा भाग लिने सहमति गरेका छन्।

दुई दलबीच शुक्रवार साझा उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने सहमति भएको बताइएको छ।

स्थानीय तहको निर्वाचनको परिणामलाई सिट बाँडफाँडको आधार मानेर केही दिनमै निर्वाचन क्षेत्रको टुङगो लगाइने उक्त दलका नेताहरुको भनाइ छ।

आधार

अन्य दलसँगको तालमेललाई पनि खुल्ला राखेका ती दलहरुले अब एउटै गठबन्धनमा जाने जनाएका छन्।

नेकपा एमाले नेतृत्वको गठबन्धन र नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले तराईकेन्द्रित दलहरुलाई आ-आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका बेला आन्दोलनको मोर्चाबाट फुटेर छुट्टाछुट्टै रुपमा स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका दुई दलले आगामी निर्वाचनमा भने संयुक्त रुपमा भाग लिने निर्णय गरेका हुन।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुबीच शुक्रबार भएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा समझदारीका आधारमा साझा उम्मेदवार उठाएर निर्वाचनमा भाग लिने सहमति भएको उल्लेख गरिएको छ।

कुन दलले कतिवटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भन्ने बारेमा हाल यकीन भइनसकेको तर त्यसको आधार भने तय गरिएको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए।

उनले भने, "गठबन्धन गरेर निर्वाचनमा जाने भन्नेमा सहमत भएका छौं। समझदारीका आधारमा बाँडफाँड गर्छौं। मुख्य रुपले हालै भएको स्थानीय तहको निर्वाचन लगायत संगठनको अवस्थालाई आधार मानेर बाँडफाँड हुन्छ।"

तालमेल

खासगरि प्रदेश नम्बर २ मा प्रभाव भएका ती दलहरुले अन्य दलहरुसँग पनि निर्वाचनका लागि तालमेल गर्न सकिने र कुनै पनि गठबन्धनमा दुबै दल संयुक्त रुपमा सहभागी हुने निर्णय समेत गरेका छन्।

तर विज्ञप्तिमा हाल गठबन्धन बनाउन लागिरहेका नेपाली कांग्रेस वा नेकपा एमाले नेतृत्वको गठबन्धन मध्ये कोसँग तालमेल गर्ने भन्ने बारेमा खुलाइएको छैन।

नेता महतोले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनसँग तालमेल हुन सक्ने संकेत गर्दै भने, "काँग्रेस लगायतका पार्टीहरुको जुन लोकतान्त्रिक गठबन्धन बन्दै छ त्यहाँ हुन सक्छ। एमाले नेतृत्वको गठबन्धनसँग तालमेल हुने सम्भावना अहिलेसम्म मैले देखेको छैन।"

संविधान जारी भए यता तराईका मुद्दाहरु सम्बोधन नगरिएको भन्दै लामो समय एकै मोर्चामा रहेर आन्दोलन गरेका यी दल स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयले विभाजित भएका थिए।

संघीय समाजवादी फोरम नेपालले पहिलो चरणदेखि नै स्थानीय निर्वाचनमा भाग लिएको थियो भने राष्ट्रिय जनता पार्टी नेपाल संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएपछि तेस्रो चरणको निर्वाचनमा सहभागी भएको थियो।

तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय निर्वाचनको परिणाम अनुसार २६ वटा स्थानीय तहको प्रमुख जितेर संघीय समाजवादी फोरम दोस्रो र २५ स्थानीय तहको प्रमुख जितेर राष्ट्रिय जनता पार्टी तेस्रो बनेको थियो।