रोहिंज्या लडाकु समूह वार्तामा बस्न 'तयार'

  • 7 अक्टोबर 2017
रोहिंज्या तस्वीर कपीराइट AFP

म्यानमारको रोहिंज्या लडाकु समूहले आफू त्यहाँको सरकारसँग शान्ति वार्तामा बस्न तयार भएको जनाएको छ।

उसले म्यानमारका मुस्लिम रोहिंज्याको अधिकारको निम्ति लडिरहेको बताउने गरेको छ।

अराकन रोहिंज्या स्यालभेसन आर्मी (एआरएसए) ले एउटा वक्तव्यमार्फत आफूले एकपक्षीय रुपमा गत सेप्टेम्बर महिनामा एक महिने संघर्ष विराम घोषणा गरेको उल्लेख गरेको छ।

त्यो एक महिना सोमबार पूरा हुँदैछ।

सम्भावना

रोहिंज्या लडाकुलाई आतंककारीको संज्ञा दिएको म्यानमार सरकारले यसअघि ऊसँग वार्ता नगर्ने बताएको थियो।

त्यसैले सरकार ती लडाकुहरुसँग वार्तामा बस्न तयार होला भन्ने सम्भावना कमजोर देखिन्छ।

बीबीसीका एकजना संवाददाताका अनुसार एआरएसएको आर्थिक स्रोत, संरचना र तालिम अथवा त्यसको प्रतिनिधित्वबारे निकै कम मात्र जानकारी छ।

तर अगस्ट महिनाको अन्त्यतिर रखाइन प्रान्तस्थित सुरक्षा चौकीहरुमा गरिएका आक्रमणहरुमा उनीहरुको हात रहेको ठानिएको छ।

कारबाही

सुरक्षा चौकीमा गरिएका आक्रमणपछि म्यानमारको सेनाले कारबाही थालेको थियो।

त्यसका कारण मानवीय संकट उत्पन्न हुने गरी सयौं हजार रोहिंज्या सर्वसाधारण भागेर बांग्लादेश जान बाध्य भएका छन्।

रोहिंज्या मुस्लिमहरु म्यानमारका अल्पसंख्यक समुदाय हुन्।

उनीहरुका कयौं बस्तीहरुमा आगो लगाइएको छ।

आलोचना

म्यानमार छाडेर माग्ने रोहिंज्या मुसलमानहरुको संख्या ५ लाख नाघेको बताइएको छ।

राष्ट्रसंघले हिंसा रोक्न नसकेको भन्दै म्यानमार सरकारको चर्को आलोचना गरेका थिए।

उसले त्यहाँको अवस्थालाई 'जातीय सफाया' को रुपमा चित्रित गरेको थियो।