'सिट बाँडफाँटको जिम्मा शीर्ष तहमा'

  • 7 अक्टोबर 2017
कार्यदल तस्वीर कपीराइट PM SECRETARIAT

चुनावको मुखमा बनेको वाम गठबन्धन र नेपाली कांग्रेसको अगुवाइमा भएको मोर्चाबन्दी दुबैले गठन गरेका कार्यदलले सिट बाँडफाँटबारे अन्तिम निष्कर्ष कार्यदल स्तरबाट लगाउन नसकिने संकेत गरेका छन्।

समयको चाप र साना दलको सिट संख्या मागका कारण त्यसबारे अन्तिम टुङ्गो लगाउने जिम्मा आ-आफ्ना शीर्षस्थ नेतृत्वलाई नै सुम्पिने दुबै पक्षले जनाएका छन्।

दुवै कार्यदलले पछिल्लो संविधानसभा र स्थानीय निर्वाचनको परिणामलाई सिट संख्या विभाजनको आधार बनाउने सहमति गरेको बताएका छन्।

टुङ्गो

सिटको छिनोफानो पछि मात्र गठबन्धनको आकार प्रष्ट हुनेछ।

नेपाल लोकतान्त्रिक फोरमका नेता तथा कार्यदल सदस्य रामजनम चौधरीले सैद्धान्तिक कुरामा लगभग सहमति भएपनि बाँडफाँटको विषय टुङ्गो लाग्न नसकेको बताए।

उनले भने, ''कसले कति-कति सिट, कुन-कुन ठाउँमा लिने भन्ने बारेमा एकदुई दिनभित्र नेतृत्व तहबाट टुङ्गो लाग्छ। त्यसको लागि नेपाली काँग्रेसले अगुवाइ गरेर सबै दलसंग कुरा गर्ने सहमति भएको छ।''

गठबन्धनमा सहभागी हुने साना दलको संख्या बेलैमा निश्चित नहुँदा पनि एमाले र माओवादी केन्द्रबीच ६० र ४० प्रतिशत सिट बाँड्न समस्या परेको उक्त पक्षका नेताको अनुभव छ।

हतारो

एकजना सदस्यका अनुसार नयाँ शक्ति पार्टी नेपाल लगायतका साना दललाई कम्तिमा १० सिट दिने र बाँकी दुई पार्टीले बाँडफाँट गर्ने बताईएको छ।

वाम गठबन्धनको कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने, ''कार्यदलले टुङ्गो गर्न नसकेको स्थान र क्षेत्रबारे पार्टी एकता समायोजन समितिमा पुग्छ। हामीले समाधान गर्न नसकेको र टुङ्गो गर्न बाँकी तथ्य र आधारसहित नेतृत्व समक्ष प्रस्तुत गर्छौं।''

दुई सातापछि उम्मेदवारी दर्ता गर्नु पर्ने भएकाले दुवै कार्यदलको अगाडि उम्मेदबार चयन र सिट संख्याको छिनोफानो गर्ने समय निकै कम छ।