स्पेनी एकताका लागि हजारौं मानिसको प्रदर्शन

  • 7 अक्टोबर 2017
स्पेन

स्पेनमा राष्ट्रिय एकताको आह्वान गर्दै हजारौं मानिसले राजधानी मड्रिडमा प्रदर्शन गरेका छन्।

गत आइतबार क्याटलोनियामा भएको जनमत संग्रहपछि चलिरहेका विवादमाझ त्यस्तो प्रर्दशन भएको हो।

क्याटलोनियाकै बार्सिलोनामा भएका अन्य प्रदर्शनमा पनि राजनीतिक वार्ताका लागि आह्वान गरिएको छ।

विवाद

सेतो पहिरनमा उत्रिएका प्रदर्शनकारीहरुले 'स्पेन उसका नेताहरुभन्दा राम्रो छ' र 'वार्ता गरौं' भन्ने जस्ता नारा लेखिएका सामाग्री बोकेका थिए।

मंगलबार क्याटलन संसदको बैठक बस्न लागेकाले विवाद जारी रहने ठानिएको छ।

यसअघि सोमबारका लागि तय संसदको बैठक स्पेनी संवैधानिक अदालतले स्थगित गरिदिएको थियो।

केन्द्रीय सरकारले क्याटलोनियालाई आफूबाट छुट्टिन नदिने बताएको छ+।

उसले स्वशासन अन्त्य गर्ने चेतावनी समेत दिएको छ।

तर दुवै पक्ष आआफ्ना अडानबाट केही पछि हटे जस्तो देखिन्छन्।

प्रतीक्षा

दुवै पक्षलाई वार्तामा बस्न आह्वान गर्दै शनिबार अन्य सयौं साना र्याली पनि भएका थिए।

क्याटलन नेता कारलस पुज्डमोनले स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानहरुमाझ मंगलबारका लागि तय उनको भाषण धेरैका लागि प्रतीक्षाको विषय बनेको छ।

२३ लाख मानिसले मत खसालेको र त्यसमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत दिएको अन्तिम नतिजाहरुले देखाएका छन्।

मड्रिड र क्याटलोनियाको बार्सिलोनाले नाटकीय कदम चाल्न सक्ने देखिन्छ।

संकट

क्याटलोनियाले स्वतन्त्रता घोषणाको एकतर्फी निर्णय लिनसक्छ।

मड्रिडले चाहिँ क्याटलोनियाको स्वशासन अन्त्य गर्ने अधिकार राख्दछ।

जुनसुकै कदम चालेपनि स्पेनमा संवैधानिक संकट आउनेछ।

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी विवाद चर्कदैं जाँदा उक्त क्षेत्रमा रहेका कैयौं प्रमुख कम्पनी तथा वित्तीय संस्थाहरुले अन्त जाने घोषणा गर्ने क्रम पनि चलिरहेको छ।

स्पेनको ठूलामध्येका ब्याङ्कको स्वामित्व रहेको काइसा ब्याङ्कले संकट जारी रहे आफ्नो मुख्यालय सार्ने बताएको छ।