क्याटलोनियासम्बन्धी योजना छोड्न पूज्डमोनमाथि चर्को दबाब

  • 10 अक्टोबर 2017
तस्वीर कपीराइट Getty Images
Image caption क्याटलोनिया स्वतन्त्रताको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन्।

क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गरिरहेका छन्।

गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन्।

फ्रान्स र जर्मनी दुवैले स्पेन एक हुनुपर्नेमा समर्थन व्यक्त गरेका छन्।

आह्वान

बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन्।

मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राखोयलाई मड्रिडलई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न भने।

आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताए।

स्पेनको विपक्षी समाजवादी दलका नेता पेड्रो सान्चेस जो क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा छन् उनी यो विवादमा तानिएका छन्।

स्पेनी सरकारले उत्तर पूर्वी क्षेत्रको एकाधिकारलाई स्थगित गर्न चेतावनी दिएको छ।

दबाब

तस्वीर कपीराइट Reuters
Image caption क्याटलान नेता कारलस पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोय।

क्याटलोनियामा रहेका प्रमुख कम्पनीहरुले उक्त क्षेत्रबाट आफ्नो मुख्यालयहरु सार्न थालेपछि क्याटलान पृथकतावादी नेताहरुमाथि आर्थिक दबाब बढिरहेको छ।

यसअघि कहिल्यै पनि विश्वले क्याटलोनियाको क्षेत्रीय संसदलाई यति नजिकबाट हेरेको थिएन।

मंगलबार साँझ सम्भवत ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीहरु बाहिर रहँदा क्याटलान नेताले आफ्ना सांसदहरुलाई सम्बोधन गर्नेछन्।

पूज्डमोनले विवादास्पद जनमत संग्रहको परिणामलाई संसदमा प्रस्तुत गर्ने योजना गरेका छन् जसलाई मड्रिडले गैरकानुनी घोषणा गरेको छ।

जनमत संग्रह यता युरोपेली सरकारले आलोचना गरे पनि र स्पेनभर स्वतन्त्रताविरुद्ध उग्र विरोध प्रदर्शन भए पनि पूज्डमोनले थुप्रै अवसरहरुमा आफूले क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने बताएका छन्।