हमास र फतहबीच मेलमिलाप सम्झौता

  • 12 अक्टोबर 2017
प्यालेष्टाइन तस्वीर कपीराइट AFP

प्यालेष्टिनी उग्रवादी समूह हमास र उस्को प्रतिद्वन्द्वी गुट फतहले कायरोमा एक मेलमिलाप सहमतिमा हस्ताक्षर गरेका छन्।

त्यस्तो सहमतिपछि ति दुईबीच गत एक दशकदेखि जारी मतभेद अन्त्य भएको छ।

उक्त सम्झौताले सुरक्षा, प्रशासन र गाजा स्ट्रिपको सिमानाकाको व्यवस्थापनको विषयहरु समेटेको ठानिएको छ।

इजिप्टले कायरोमा दुवै पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको थियो।

सन् २००७ मा हमास र फतह समूहहरुबीचको हिंसात्मक भिडन्तपछि गाजा र वेस्ट ब्यांकमा रहेका प्यालेष्टिनीहरु ति दुईबाट अलग अलग शासित हुंदै आएका थिए।

पकड

अघिल्लो वर्ष मात्र हमासले अधिनस्थ क्षेत्रमा गरिएको संसदीय निर्वाचनमा जित हासिल गरेको थियो र फतहलाई निस्काशन गरी गाजामा आफ्नो पकड बलियो बनाएको थियो।

विहीबार भएको सम्झौताको पूर्ण विवरण सार्वजनिक हुन बांकी नै रहेका बेला दुवै समूहका वार्ताकारहरुले भनेका छन् सुरक्षा व्यवस्थामा गरिने एक परिवर्तन अन्तरगत गाजा र इजिप्टबीचको रफाह सिमानाकाको जिम्मा एउटा संयुक्त सरकारलाई दिइनेछ।

हमासले पनि आगामी डिसेम्बर महिनासम्ममा गाजा स्ट्रिपको सम्पूर्ण प्रशासनीक जिम्मेवारी फतह समर्थित सरकारलाई गर्ने सहमति भएको छ।

इजिप्टले जारी गरेको औपचारिक वक्तव्यमा सो कुरा जनाइएको छ।

तस्वीर कपीराइट Reuters

दुवै पक्षले उक्त सहमतिलाई ठूलो उपलब्धी भनेका छन्।

सफल

प्यालष्टिनी अध्यक्ष महमुद अब्बासले विहीबार बोल्दै प्रतिद्वन्द्वी विभाजन अन्त्य गर्न वार्ता सफल भएको बताएका छन्।

उनले आगामी हप्ताहरुमा एक दशकमा पहिलोपल्ट गाजा स्ट्रिपको भ्रमण गर्ने योजना रहेको बताइएको छ।

हमासले गाजामा नियन्त्रण कायम गरिरहेको छ भने फतहले वेस्ट ब्यांकको प्यालेष्टिनी क्षेत्रको प्रशासन सम्हाल्दै आएको छ।

इजरेलको विनाशको आह्वान गर्ने गरेको हमास समूहले उक्त यहुदी राज्यसंग तीनवटा युद्ध लडेको छ।

इजरेलले हमासलाई एक आतंकवादी संगठन भन्दछ र हमासका सदस्यहरु संलग्न प्यालेष्टिनी सरकारसंग कुनै सम्बन्ध नराख्‍ने बताउंदै आएको छ।