हेमराजकी श्रीमतीः भारतको कानून कस्तो?

  • 14 अक्टोबर 2017
हेमराज
Image caption हेमराजकी श्रीमती खुमकला बन्जाडे

भारतमा आरुषि हत्याकाण्ड भनेर चर्चित घटनामा आरुषिका आमाबुवालाई त्यहाँको एउटा उच्च अदालतले हालै निर्दोष ठहर गरेसँगै हत्यारा को थिए भन्ने प्रश्न फेरि उठ्न थालेको छ।

सन् २००८ मा १४ वर्षीया आरुषि तलवार र उनको घरमा काम गर्ने नेपालका हेमराज बन्जाडेको हत्या भएको थियो।

भारतीय सञ्चारमाध्यमले निकै महत्त्व दिने गरेको उक्त हत्याकाण्डका एक पीडित हेमराजलाई चाहिँ सधैँ उपेक्षा गरेको देखिन्छ।

अर्घाखाँची जिल्लाको दुर्गम गाउँ धारापानीमा बस्ने हेमराजको परिवार भारतीय अदालतको पछिल्लो आदेशबाट निकै दुःखी बनेको छ।

सुनसान

हेमराजको परिवारलाई अदालतको आदेशले न राहत दिएको छ न त कुनै आशा नै जगाएको छ।

करिब ५० वर्ष पुगेकी हेमराजकी श्रीमती खुमकला बन्जाडेका लागि सुनसान घर र पतिको सम्झनाबाहेक अरु केही छैन।

Image caption अर्घाखाँचीस्थित हेमराजको घर

करिब १० वर्षको हुँदा आफ्ना बुवा गुमाएका हेमराजका छोरा प्रज्वल अहिले १९ वर्षका भएका छन्।

न्यायको नाममा आफूसँग मजाक भइरहेको खुमकलाको गुनासो छ।

उनी प्रश्न गर्छिन्, "के गरिबका लागि न्याय हुँदैन? पैसा हुनेहरुले मात्रै न्याय पाउँछन्?"

शंकास्पद

तलवार दम्पतीमाथि औंला तेर्स्याउँदै उनले जम्मा चारजना भएको परिवारमा दुईजना मारिनु र दुईजना जीवित रहनु शंकास्पद भएको बताइन्।

पेशाले चिकित्सक रहेका राजेश तलवारकी छोरी आरुषि र उनको घरमा काम गर्दै आएका हेमराजको सन् २००८ को मे महिनामा नोएडास्थित घरमा हत्या भएको थियो।

तस्वीर कपीराइट FIZA
Image caption आरुषि

आरुषिको शव घरमै फेला पारिएको थियो भने हेमराजको शव छिमेकी घरको छतमा फेला पारिएको थियो।

तलवार दम्पतीलाई आजीवन कारावासको सजाय सुनाउने सीबीआइ अदालतको निर्णय खारेज गर्ने उच्च अदालतको फैसलाप्रति खुमकलाले आपत्ति जनाएकी छन्।

उनी प्रश्न गर्छिन्, "भारतको कानून कस्तो हो? के पैसा नभएकै कारण हामीले न्याय पाउन सक्दैनौँ?"

कमजोर

भारतमा काम गर्न गएका आफ्ना श्रीमान् मारिएपछि अब आफूसँग केही बाँकी नरहेको खुमकला भन्छिन्।

जसोतसो १२ कक्षासम्म पढेका छोरा प्रज्वल पढाईलाई अगाडि बढाउन घरको आर्थिक अवस्थाले नदिएपछि त्यत्तिकै घरमा बसेको उनी बताउँछिन्।

तस्वीर कपीराइट PTI
Image caption तलवार दम्पती

खुमकलाका अनुसार ८० वर्ष नाघेकी उनकी सासु कृष्णकला घरको आर्थिक अवस्था कमजोर भएपछि माइती बस्न थालेकी छन्।

पछिल्लो फैसलापछि दिल्लीबाट विभिन्न सञ्चारमाध्यमले फोन गर्दा घाउमा नुन-चुक लगाएजस्तो भएको उनले गुनासो गरिन्।

उनको कुरा सुन्दा लाग्छ न्याय पाउने आशा अब उनमा मरिसकेको छ र सँगसँगै सो घटनाको दोषी पत्ता लाग्ला भन्ने विश्वास पनि उनमा बाँकी छैन।