कुर्दिश लडाकुलाई इराकी सरकारको समयसीमा

  • 14 अक्टोबर 2017
पेशमेर्गा तस्वीर कपीराइट Reuters

उत्तरी इराकका कुर्दहरुले विवादास्पद किर्कुक शहरस्थित आफ्ना सैन्य अखडा तथा तेल स्रोत बुझाउन आफूहरुलाई स्थानीय समयअनुसार मध्यरातसम्मको समयसीमा दिइएको बताएका छन्।

कुर्दहरुले गत महिना स्वतन्त्रतासम्बन्धी जनमत संग्रह गरेपछि तनाव चुलिएको छ।

स्वतन्त्रताको पक्षमा परिणाम आएको उक्त जनमत संग्रह अवैधानिक भन्दै बग्दादले भर्त्सना गरेको छ।

हाल बग्दादमा रहेकी बीबीसी संवाददाता ओर्ला गिरिन् भन्छिन्, "कुर्दहरुलाई यो क्षेत्रमा कुनै खालको समर्थन छैन। इजरेल बाहेक युरोपेली संघ राष्ट्रसंघ, अमेरिका, ब्रिटेन तथा छिमेकीहरु जनमत संग्रहको विपक्षमा थिए"।

दाबी

तेलमा धनी किर्कुक प्रान्तमाथि कुर्दहरु र बग्दाद दुवैले दाबी गरिरहेका छन्।

दुवै पक्षले इस्लामिक स्टेटविरुद्ध संयुक्त रुपमा लडेका थिए तर अहिले उनीहरु दुई विरोधी कित्तामा उभिएका छन्।

आइएस उत्तरी इराकभर फैलँदा र सेना असफल प्राय: भएको अवस्थामा समेत सन् २०१४ मा कुर्दिश पेशमेर्गाहरुले उक्त प्रान्तको अधिकांश हिस्सा आफ्नो नियन्त्रणमा लिएका थिए।

हालै इराकी सरकारसमर्थित शिया मिलिया र कुर्दिस पेशमेर्गा फौजबीच संक्षिप्त संघर्ष पनि भएको छ।

त्यसलगत्तै पछिल्लो समयसीमाको विवरण आएको छ।

एक जना वरिष्ठ पेशमेर्गा कमाण्डरले आफूहरु इराकीसँग लड्न नचाहेको तर आवश्यक परे आफ्नो बचाउ गर्ने बताएका छन्।