संघीय र प्रादेशिक चुनावको औपचारिक प्रक्रिया शुरु

  • 15 अक्टोबर 2017
समानुपातिक

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेका प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विधिवत् प्रक्रिया आइतवारदेखि प्रारम्भ भएको छ।

दुई चरणमा आगामी मंसिर १० र २१ गतेका लागि तय ती चुनावको कार्यतालिका अन्तर्गत पहिलो महत्वपूर्ण कार्यसूचीका रुपमा दलहरुले आइतवार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

समानुपातिकका लागि आयोगले ८८ वटा दललाई चुनाव चिन्ह दिएको थियो।

समस्या

कतिपय दलले विभिन्न क्षेत्र समुदायको प्रतिशत बाँडफाँट मिलाउन प्राविधिक रुपमा समस्या परेको बताएका छन् भने केहीले जिल्लाबाट धेरै जनाको नाम सिफारिस भइआएकाले व्यवस्थापनमा समस्या परेको बताएका छन्।

दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने तालिका अनुसार, निर्वाचन आयोगले बिहानैदेखि कमर्चारी खटाएको भएपनि दलहरुले आयोगमा पुग्न भने निकै ढिलाइ गरे।

दिनभरजसो आयोगको परिसरमा उम्मेद्वारको सूचीमा परेकाहरु आफ्नो मतदाता नामावलीमा नाम रहेको प्रमाणित गराउन आउने नेताहरुकै भीड देखिन्थ्यो।

विभिन्न दलका केही नेतामात्रै आयोग पुगेर धरौटीको रकम बुझाएर टोकन लिएर गएका थिए।

उनीहरुले अबेर रातिसम्म पनि आफ्नो सूची बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनले भने, "दर्ता गराउन बाँकी रहेका दलहरु पनि आयोगको सम्पर्कमा परिसरमै थिए। साँझ ५ बजे सम्म आयोग पुगेका सबै दलहरुको दर्ता गर्ने गरी हामीले काम गर्‍यौं।"

Image caption निर्वाचन आयोगमा दलहरुले साँझ ५ बजेपछि पनि सूची बुझाइरहेका थिए।

ढिलाइ

अधिकांश ठूला दलले जिल्लाबाट उमेद्वारका लागि सिफारिस भएर आएकाहरुको संख्या धेरै भएको र त्यसबाट छनोट गर्नु पर्दा समय लागेको बताएका छन्।

त्यसमा पनि विभिन्न क्षेत्र र वर्गका लागि भनेर तोकिएको प्रतिशत मिलाउनु पर्दा सूची बनाउनै कठिन भएको बताइएको छ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने, "विभिन्न जातजाति, महिला, पिछडिएको क्षेत्र लगायतकाहरुमा विभाजन गरेर राख्नुपर्ने भएकाले नमिल्नासाथ सफ्टवेयरले मान्दैन। यो सबै राख्नाका लागि समय पनि कम भयो त्यसैले ढिलाइ भएको हो।"

त्यस्तै प्राविधिक समस्या झेलिरहेको बताउने नेपाली काँग्रेसलाई अन्तिम समयमा विभिन्न दलसँग हुन लागेको एकताले सूची तयार पार्न कठिन भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

उनले भने, "विजय गच्छदार नेतृत्वको दल लगायतबाट आएका तथा अरु पार्टीहरुमा भएका आकांक्षीहरुलाई पनि मिलाउनुपर्यो । पहिले बनाएको सूचीलाई फेरी बदल्नुपर्ने अवस्था आएकाले पनि ढिला भएको हो।"

योजना

निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको बन्दसूची सच्याउन राजनीतिक दलहरुलाई सूचित गर्ने र कात्तिक ६ गते दलहरुले संशोधन गरेर पेश गर्ने समय दिएकाले धेरै दलहरु हतारोमा बुझाएको सूची आयोगले दिएको समयमा परिवर्तन गर्ने योजनामा देखिएका छन्।

दलहरुले समानुपातिक उमेद्वारीको बन्दसूची बुझाएसँगै आइतबारदेखि ‍औपचारिक रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रक्रिया शुरु भएको छ।

प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागी कात्तिक ५ गते र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ताको दिन तोकिएको छ।