विश्वकै कान्छो नेता बन्दै अष्ट्रियाका ३१ वर्षीय कुर्ट्स

  • 16 अक्टोबर 2017
अस्ट्रिया, कान्छा नेता, कन्जरभेटिभ पिपल्स पार्टी तस्वीर कपीराइट Getty Images

आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेका हुन्।

३१ वर्षीय कुर्ट्सको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ।

कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन्।

बाचा

भियनास्थित बिबीसी संवाददाताले भनेका छन्, पूर्व विदेशमन्त्री रहेका कुर्ट्सले शिथिल भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पूनर्जीवन दिएका थिए।

उनले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग गठबन्धन गर्लान् कि नगर्लान् भन्ने स्पष्ट भइसकेको छैन।

तस्वीर कपीराइट Getty Images
Image caption फ्रिडम पार्टीका नेताले कुर्ट्सले आफ्ना नीतिहरु चोरेको भन्ने आरोप लगाएका छन्।

धन्यवाद

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै कुर्ट्सले भने, "यो देशमा परिवर्तन ल्याउने समय भएको छ। देशमा परिवर्तन ल्याउन आज हामीलाई ठूलो निर्देशन आएको छ। र, यो सम्भव बनाएकोमा म तपाईँहरु सबैलाई धन्यवाद दिन चाहन्छु।"

मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन्।

दोस्रो स्थानमा सोसियल डेमोक्र्याट्स आउँछ वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन।