किर्कुक शहरमा इराकी सेनाको प्रवेश

  • 16 अक्टोबर 2017
किर्कुक तस्वीर कपीराइट Reuters

इराकको किर्कुक शहरस्थित महत्वपूर्ण संरचनाहरुमाथिको नियन्त्रण बग्दाद सरकारप्रति वफादार सैनिकहरुले कुर्द सैन्यबाट खोसेर लिंदै गर्दा हजारौं बासिन्दा सो शहर छाडी भागेका छन्।

इराकी सेनाले शहरको केन्द्रमा रहेको प्रशासनिक भवनमा पनि नियन्त्रण कायम गरेको बताइएको छ।

त्यसअघि तिनीहरुले उक्त शहरस्थित मूख्य सैनिक अखाडा, विमानस्थल र तेलखानीहरु कब्जामा लिएका थिए।

प्रधानमन्त्री हैदर अल-अबादीले किर्कुक र कुर्द नियन्त्रणमा रहेका अन्य विवादित क्षेत्रहरुमा इराकी झण्डा फहराउन आदेश दिएका छन्।

प्रवेश

किर्कुकका बासिन्दाहरुका अनुसार इराकको सरकारी सैन्य उक्त शहरको मध्ये भागमा प्रवेश गरेको छ।

प्रत्यक्षदर्शीहरुले बीबीसीलाई बताए अनुसार तिनीहरुले संघीय सेना प्रान्तिय सरकारको भवनमा प्रवेश गरेको देखेका छन्।

सोमबार केही समयअघि किर्कुक शहरको दक्षिणी भेगमा भिडन्तहरु भएको बताइएको थियो।

कुर्दिस्तान क्षेत्रले स्वतन्त्रता सम्बन्धी एउटा विवादास्पद जनमत संग्रह गरेको तीन हप्तापछि बग्दादस्थित सरकारले सैनिक कार्वाही थालेको हो।

तस्वीर कपीराइट Reuters

किर्कुक शहर इराकी कुर्दिस्तानभित्र नपर्ने भएतापनि उक्त शहरमा रहेका मतदाताहरुलाई जनमतसंग्रहमा सहभागी हुने अवसर दिइएको थियो।

असंवैधानिक

अलग देश घोषणा गर्ने पक्षमा किर्कुक लगायत अन्य कुर्द नियन्त्रित क्षेत्रका बासिन्दाले अत्यधिक बहुमतले मतदान गरेका भनिएको उक्त जनमतसंग्रहलाई इराकी प्रधानमन्त्रीले असंवैधानिक भनेका थिए।

कुर्दिस्तान क्षेत्रिय सरकारले भने त्यो कानुनसम्मत भएको दावी गरेको थियो।

अमेरिकी अधिकारीहरुले तनाव साम्य पार्ने प्रयासमा तिनीहरु इराकमा रहेका सबै पक्षसंग सम्पर्कमा रहेका बताएका छन्।

आजै केहि समय अघि इराकी सेनाले त्यहांको प्रमुख सैनिक अखाडा, बाबा गुरगुर तेल र ग्यास खानी र सरकारी तेल कम्पनीको कार्यालयलाई नियन्त्रणमा लिइएको जनाएको थियो।

बग्दादले त्यहांबाट कुर्द पेशमेर्गा सैन्य कुनै संघर्ष नगरी पछाडी हटेको बताएको थियो।

तर केहि भिडन्तका विवरणहरु भने प्राप्त भएका थिए।

पेशमेर्गा जेनरल कमाण्डले सोमबारको इराकी सैन्य कार्वाहीलाई 'कुर्द जनताविरुद्धको युद्ध' भनेको छ।