दिल्लीः किन रोहिंज्याहरु इसाई बन्दैछन्?

  • 17 अक्टोबर 2017
ईसाई तस्वीर कपीराइट FACEBOOK/JOHN SULTAN

मोहम्मद सुल्तान आफ्नो परिवारका अन्य सदस्यसहित म्यानमारबाट भागेर भारत पुगेको पाँच वर्ष भएको छ।

मोहम्मद सुल्तानबाट अहिले जन सुल्तान बनिसकेका छन्।

दिल्लीको उत्तम नगरस्थित रोहिंज्या बस्तीमा बस्दै आएका जन सुल्तानले फेसबुकमा र साथीहरुमाझ इसाई धर्मको प्रचारप्रसार गर्दै आएका छन्।

सुल्तान मात्रै होइनन् उनको बस्तीमा बस्ने करिब १२० जनाले इसाई धर्म मान्न थालेका छन्।

के रोहिंज्या भारतका लागि सुरक्षा खतरा हुन्?

रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!

ईसाई नाम

उक्त बस्तीमा गिर्जाघर पनि छ र उनीहरु त्यहाँ प्रार्थना गर्न जान्छन्।

अचेल सो बस्तीमा जन्मिने बच्चाहरुको इसाई नाम राख्न थालिएको छ।

सोही बस्तीमा बस्ने कबीरका तीनजना छोराछोरी छन्: रुबीना, फारमीन र स्यामुअल।

१३ वर्षीया रुबिना र ७ वर्षीया फारमीनको म्यानमारमा जन्म भएको थियो भने सात महिना पहिले स्यामुअल भारतमा जन्मिएका हुन्।

शरणार्थी बस्तीमा बस्ने हकीमले भारत आएपछि जन्मिएका आफ्नो छोराको नाम पिटर राखेको बीबीसीलाई बताए।

इसाई नाम राख्नुको कारणबारे उनले बीबीसीलाई भने, "यो नामको चर्चा बाइबलमा पनि गरिएको छ। हामी ईशुलाई मान्दछौँ, त्यही भएर त्यो नाम राखेको हुँ।"

प्रतिबन्ध

शरणार्थी बस्तीको ठ्याक्कै अगाडि गिर्जाघर पनि छ तर उनीहरु त्यहाँ जांदैनन्।

आफूहरुलाई त्यहाँ जान प्रतिबन्ध लगाइएको जन सुल्तानले बताए।

उनले भने, "हाम्रो बस्तीभित्रै गिर्जाघर छ। अगाडिको गिर्जाघरमा हामी जांदैनौँ। त्यो क्याथोलिकहरुको गिर्जाघर हो तर हामीहरु प्रोटेस्टेण्ट हौँ।"

शरणार्थी बस्तीका अर्का रोहिंज्या करिमले हरेक आइतवार आफूहरुले गिर्जाघरमा सामूहिक प्रार्थना गर्ने गरेको बताए।

जन सुल्तान अंग्रेजी बोल्छन् र आफ्नो फेसबुक प्रोफाइलमा अंग्रेजीमै लेख्छन्।

रोहिंज्याहरुमाथि म्यानमारमा हुने गरेका आक्रमण र इसाई धर्मसँग सम्बन्धित विषयमा उनले लेख्ने गरेका छन्।

सहयोग

जन सुल्तानले धर्म परिवर्तनसँग सम्बन्धित एउटा भिडिओ पनि आफ्नो फेसबुकमा राखेका छन् जसमा इसाई बन्ने कथा छ।

बाइबलका उपदेश पनि उनले फेसबुकमा लेख्ने गरेका छन्।

शरणार्थी बस्तीमा बस्ने रोहिंज्याहरुलाई विभिन्न धार्मिक संगठनले सहयोग गरिरहेका छन् र जन सुल्तान तिनीहरुमध्ये एउटा संगठनमा आबद्ध छन्।

हालै १० कक्षाको परीक्षा दिएका जन सुल्तान अध्ययनबाहेक फुटबल पनि खेल्छन्।

रोहिंज्या शरणार्थीहरुको बस्ती चारैतिरबाट पर्खालले घेरिएको छ र आफूहरु बस्दै आएको जग्गाको उनीहरुले भाडा तिर्छन्।

हकिमले भने, "हामी यहाँ डेढ वर्षदेखि बसिरहेका छौँ। पहिलो वर्ष भाडावापत २ लाख रुपैयाँ तिरेका थियौँ भने भाडा बढेकोले अर्को वर्ष २ लाख २० हजार तिर्नुपर्‍यो।"

निगरानी

त्यहाँ बस्दै आएका सबैले मिलेर जग्गाको भाडा तिर्ने गर्छन् र महिला तथा बालबालिकासहित प्रति एकजना २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

बस्तीमा सीसीटीभी जडान गरिएका छन् भने प्रवेशद्वारमा 'वाच टावर' राखिएको छ जसबाट बस्तीमाथि निगरानी गरिन्छ।

अपरिचितलाई बस्तीमा जान निषेध गरिएको छ।

त्यहाँ बस्ने महिलाहरु आपसमा बर्मेली भाषामा कुरा गर्छन् र बाहिरी दुनियाँसँग उनीहरुको सम्पर्क हुँदैन।

पुरुषहरु काम गर्न बाहिर जान्छन् तर उनीहरु पनि बाहिरका मानिसहरुसँग घुलमिल हुँदैनन्।

शरणार्थी बस्तीमा धुमधामका साथ क्रिसमस मनाइन्छ र आउँदो क्रिसमसको तयारीका लागि युवाहरुले योजना बनाइरहेका छन्।

विचाराधीन

परिवारका ६ जनालाई पालिरहेका हकीम भन्छन्, "अब हामी मुस्लिम रहेनौँ, हामीलाई इसाई धर्म राम्रो लाग्छ।"

भारतमा करिब ४० हजार रोहिंज्या शरणार्थी छन् र उनीहरु विभिन्न राज्यमा बस्दै आएका छन्।

उनीहरुमध्ये करिब १६ हजारले राष्ट्रसंघीय शरणार्थी निकायबाट परिचयपत्र पाएका छन्।

तर हालसालै भारतीय गृह राज्यमन्त्री किरण रिजुजुले सबै रोहिंज्यालाई उनीहरुको देश फिर्ता पठाइने बताएका थिए।

त्यसबारे भारतको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

रोहिंज्या शरणार्थीबारेको रिटमाथि गत शुक्रवार सुनुवाई गर्दै सर्वोच्च अदालतले मुद्दाको किनारा नलागेसम्म रोहिंज्याहरुलाई स्वदेश फिर्ता नपठाउन आदेश दिएको थियो।

असंवैधानिक

उक्त मुद्दाको सुनुवाई नोभेम्बर २१ तारिखसम्मका लागि स्थगित गरिएको छ।

उत्तम नगर वरपर बस्ने मानिसहरुका अनुसार पहिला रोहिंज्याले आफूहरु मुस्लिम भएको बताउने गर्दथे।

एक महिलाले भनिन्, "पहिला-पहिला उनीहरुले आफूलाई मुस्लिम भन्दथे र सेतो टोपी पनि लगाउँथे, तर अहिले उनीहरु गिर्जाघर जान थालेका छन्।"

रोहिंज्या शरणार्थीका लागि काम गर्दै आएको जकात फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. सय्यद जफर महमुद धर्म परिवर्तन मान्छेको व्यक्तिगत मामिला भएको बताए।

उनले भने, "यदि रोहिंज्याहरु आफैंले धर्म परिवर्तन गर्ने निर्णय गरेका हुन् भने त्यो उनीहरुको अधिकारको कुरा हो, तर जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराइन्छ भने त्यो असंवैधानिक हुन्छ।"

उनले रोहिंज्याका लागि काम गर्दै आएका संगठनहरुले शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायका बैठकहरुमा धर्म परिवर्तनबारे कुनै कुरा नराखेको बताए।