किन उडानहरु अचेल ढिला हुन थालेका छन्?

  • 17 अक्टोबर 2017
उडान

काठमाण्डूबाट देशका विभिन्न भागमा हुने आन्तरिक उडान केही दिनयता निर्धारित समयभन्दा ४/५ घण्टा ढिलो हुने गरेका छन्।

त्यसले गर्दा यात्रुहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा बस्ने ठाउँ समेत नपाएको गुनासो गरेका छन्।

हिमाल दृश्यावलोकनको निम्ति गरिने 'माउण्टेन फ्लाइट' को वृद्धि तथा विमान चालकले टाढाबाट हेर्दा जमिन प्रस्ट देख्न नसक्ने कम 'भिजिविलिटी' को समस्याले उडान तालिका प्रभावित भइरहेको अधिकारीहरुले जनाएका छन्।

काठमाण्डूबाट नेपाल वायुसेवा निगमको बिहान साढे १० बजेको उडानबाट भैरहवा जान अशोक पाण्डे आज ९ बजेतिर विमानस्थल पुगे तर ३ घण्टा बित्दा पनि उडान भएको थिएन।

चाप

काठमाण्डूस्थित विमानस्थलमा पट्यार मानेर कुरिरहेका उनले त्यहाँको प्रतीक्षालयमा भोग्नुपरेको सास्ती सुनाउँदै भने, "धेरै मान्छेहरु उभिरहेका छन्, बस्ने ठाउँ पाएका छैनन् र निकै दुःख पाइरहेका छन्।"

चाडबाडको समय र तराईबाट राजधानी प्रवेशको मुख्य सडकखण्ड मुग्लिन-नारायणगढको खराब हालत।

कैयौँ घण्टा जाममा परिने बसयात्रा।

त्यसैले पछिल्ला दिन हवाईसेवामा चाप बढेको छ।

विमान कम्पनीले उडान थपेका छन् तर जहाजबाट पनि समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था छ।

त्यस्तै अवस्था बेहोरिरहेका नेपालगञ्ज जान कुरिबसेका अर्का यात्रु सुशीलकुमार श्रेष्ठले भने, "काम परेर १२ बजे नेपालगञ्ज पुग्नुपर्ने थियो अब काममै असर पर्ने भयो। कति बजेसम्म पुग्ने हो, उडान नभएसम्म ठेगान छैन।"

अस्तव्यस्ता

त्रिभुवन विमानस्थलको अस्तव्यस्ताको निम्ति कमजोर व्यवस्थापन जिम्मेवार रहेको कतिपयको भनाई छ तर विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका भनाइमा माउण्टेन फ्लाइट र आन्तरिक उडानमा भएको वृद्धिका साथै कम भिजिबिलिटी अस्तव्यस्तताको कारण हो।

समाधानको उपाय के छ?

ठाकुर भन्छन्, "भैरहवा विमानस्थल नबनेसम्म यस्तो अप्ठ्यारो भइरहन्छ कि त ५० प्रतिशत उडानहरु कटौती गर्नुपर्‍यो।"

हवाई ट्राफिक जामका कारण कतिपय अन्तर्राष्ट्रिय उडान पनि प्रभावित हुने गरेका छन्।

पछिल्लो समस्याले अर्को अन्तर्राष्ट्रिय विमानस्थलको अभाव झन् खट्किएको अधिकारीहरुको अनुभव छ।