अफगानिस्तानमा हमला: दर्जनौंको मृत्यु

  • 17 अक्टोबर 2017
गार्देज तस्वीर कपीराइट Reuters

अफगानिस्तानको दुईवटा पूर्वी प्रान्तहरुमा भएका तालेवान हमलामा कम्तीमा ७१ जनाको ज्यान गएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन्।

पूर्वी शहर गार्देजस्थित एउटा प्रहरी तालिम केन्द्रमा आत्मघाती बमहमलाकारी र बन्दूकधारीहरुले गरेका हमलामा ४१ जना मारिएका छन्।

आन्तरिक मामिला मन्त्रालयका अनुसार त्यहांका स्थानीय प्रहरी प्रमुख पनि मारिएका छन्।

तालेवानले उक्त हमलाको जिम्मेवारी दावी गरेको छ भने पांच गैरसैनिक सहित ३० जना मारिने गरी छिमेकको गज्नी प्रान्तमा भएको दोस्रो हमलाकालागि पनि तिनीहरुले जिम्मेवारी लिएका छन्।

आत्मघाती

पाक्तिया प्रान्तको गार्देज प्रहरी मुख्यालयमा भएको हमला एकजना आत्मघाती हमलाकारीले कार बम विस्फोट गराएर शुरु भएको थियो।

तस्वीर कपीराइट EPA

त्यसपछि बन्दूकधारीहरुले उक्त भवन परिसरमा हमला गरेका थिए।

सुरक्षा सैन्यले घण्टौंसम्म उग्रवादी लडाकुहरुसंग भिडन्त गरेका थिए।

एउटा वक्तव्य जारी गर्दै आन्तरिक मामिला मन्त्रालयले उक्त घटनामा कम्तीमा पांचजना आक्रमणकारी मारिएका जनाएको छ।

उक्त सुरक्षा परिसरमा राष्ट्रिय प्रहरी, सिमा प्रहरी र अफगान राष्ट्रिय सेनाको मुख्यालयहरु रहेका छन्।

मारिनेहरुमा महिला, विद्यार्थी र प्रहरीहरु रहेका गार्देज शहरका सार्वजनिक स्वास्थ्य सेवा निर्देशक हेदायतुल्लाह हमिदीले एएफपी समाचार एजेन्सीलाई बताएका छन्।

‌पाक्तिया प्रान्तका गभर्नरको कार्यालयले जनाए अनुसार थुप्रै गैरसैनिकहरु राहदानी र राष्ट्रिय परिचयपत्र लिनका लागि उक्त घटनास्थलमा रहेका थिए।

रक्तदान

तस्वीर कपीराइट .

घाइतेहरुको ठूलो संख्याका कारण चर्को दबाबमा परेको भन्दै स्थानीय अस्पतालले मानिसहरुलाई रक्तदान गर्न आग्रह गरेको छ।

त्यसपछि विश्वविद्यालका विद्यार्थीहरु रगतदान गर्न उक्त चिकित्सा केन्द्र आगाडि लाम लाग्न गएका त्यहांस्थित एकजना फोटोग्राफरले जनाएका छन्।

गार्देजबाट झण्डै एकसय किलोमिटर टाढाको गज्नी शहरका प्रहरी प्रमुखले त्यहां भएको हमलामा दर्जनौं तालेवान लडाकुहरु मारिएका बताएका छन्।

सो घटनाको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन तर विवरणहरुका अनुसार त्यहां पनि गार्देज घटनाकै शैलीमा हमला भएको बताइएको छ।