डाक्टर के.सीले तोडे अनशन

  • 18 अक्टोबर 2017
डाक्टर के.सी

कार्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् चिकित्सा शिक्षासम्बन्धी कानून पारित गर्ने सहमति भएपछि डाक्टर के.सीले १४ दिनदेखिको अनशन बुधबार साँझ तोडेका छन्।

चिकित्सा शिक्षा सुधारलगायतका विभन्न माग राख्दै १३ पटक अनशन बसेका डा. केसीका मागअनुरुप नै उपत्यका बाहिर सरकारले मेडिकल कलेज खोल्ने र हाल चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा स्नातकोत्तर तहको शुल्क कम गर्ने विषयमा पनि सहमति भएको छ।

बुधबार १० वर्षिया बालिका रोजिना तामाङको हातबाट मह र पानी पिएर डाक्टर के.सीले १३औं अनशन तोडेका हुन्।

डाक्टर के.सी तथा सरकारी वार्ता टोलीको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायबीच सरकारले अध्यादेशमार्फत् चिकित्सा शिक्षा कानून पारित गर्ने सहित १० बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

सहमति

उक्त सहमतिबारे स्वास्थ्यमन्त्री दिपक बोहराले भने, "प्रधानमन्त्रीज्यूले डाक्टर के.सीसंग फोनमा कुराकानी गर्नुभयो र उहाँलाई अनशन तोड्न आग्रह गर्नुभयो। हामीले चिकित्सा शिक्षा शुल्कका बारेमा पनि कुरा गरेका छौं। अब कार्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा कानून पारित गर्ने छौं।"

१० वर्षसम्म काठमाण्डू उपत्यकामा नयाँ मेडिकल कलेजका लागि आसयपत्र दिन नहुने, शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलको सिफारिसअनुसार नै चिकित्सा शिक्षा कानून पारित गरिनुपर्ने जस्ता अडान डाक्टर के.सीले राख्दै आएका थिए।

राजनीतिक मुद्दा समेत बन्न पुगेपछि विभिन्न तर्फबाट प्रयास भएपनि व्यवस्थापिका संसद भंग हुनुअघि चिकित्सा शिक्षा विधेयक पारित हुन सकेन।

बुधबार भएको सहमतिअनुसार अब सरकारले उपत्यका बाहिर डडेल्धुरा, उदयपुर र इलाममा नयाँ मेडिकल कलेज खोल्ने भएको छ।

छानबिन

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा स्नातकोत्तर तहका विद्यार्थीको शुल्क कम गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ।

साथै त्रिभुवन विश्वविद्यालय र काठमाण्डू विश्वविद्यालयमा भएका भनिएका अनियमितताबारे छानबिन टोली बनाउने सहमति पनि भएको डाक्टर के.सी. का सहयोगी डाक्टर अभिषेक सिंहले बताए।

उनले भने, "विश्वविद्यालयहरुका शुल्कमा अनियमितता गर्ने पदाधिकारीहरुलाई हामीले बनाएको जाँचबुझ आयोगमा छानबिन गर्न पठाउने। काठमाण्डू मेडिकल नेशनल कलजेको सम्बंधन प्रकरणमा संलग्न भएका उपकुलपति र पदाधिकारीहरुलाई पनि सोही आयोगमा छनबिनका लागि लेखी पठाउने सम्झौता भएको छ। "

गत पाँच वर्षमा उनले १३ पटक अनशन बसिसकेका छन्। पछिल्ला अनशन लामो हुँदै गएको र त्यसले उनको स्वास्थ्यमा धेरै नै नकारात्मक असर परेको उनका सहयोगीहरुले बताउँदै आएका छन्।

तर हरेक पटक डाक्टर के.सीको स्वास्थ्यस्थिति खस्कँदै गएपछि मात्र सरकारले सहमति गरी अनशन तोडाउने गरेको देखिन्छ।

अनि हरेक पटक डाक्टर के.सीले ती सहमति पालना नभएको भन्दै पुन: अनशन बस्ने गरेका छन्।