मतपत्र छपाइ धमाधम: निर्वाचन आयोग

  • 19 अक्टोबर 2017
छपाइ
Image caption निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ धमाधम भइरहेको बताएको छ

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको आगामी मंसिरमा दुई चरणमा हुन लागेको निर्वाचनकालागि समानुपातिकतर्फको मतपत्रको छपाइ आधा सकिएको जनाएको छ।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका निम्ति प्राविधिक कामहरुमा वाधा नपुग्ने जनाइसकेको आयोगले अर्को हप्ता प्रत्यक्षतर्फको मनोनयन दर्ता सकिए लगत्तै त्यसको मतपत्र छाप्ने कामपनि थालिने जनाएको छ।

प्रदेश र प्रतिनिधि सभाको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिट बुधबार खारेज भएपछि अब निर्वाचनमा कुनै वाधा नभएको आयोगका अधिकारीहरुले बताएका छन्।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, "समानुपातिकतर्फ १ करोड ८० लाख मतपत्रमा अहिलेसम्म ९० लाख भन्दा बढी मतपत्र छपाइ भइसकेको छ। सम्पूर्ण मतपत्र कार्तिक ७ गतेसम्म छापिइसक्नेछ।"

निर्वाचन चिन्ह

प्रत्यक्षतर्फको प्रदेश र प्रतिनिधि सभाको उम्मेदवारीको मनोनयन दर्ता तीन दिनपछि कार्तिक ५ गते हुन लागेकोले त्यस लगत्तै बाँकी मतपत्रपनि छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनले भने, "कार्तिक ८ गते हामी राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्छौं । त्यसपछि मात्र मतपत्र छाप्ने काम शुरु हुन्छ। प्रत्यक्षतर्फ १ करोड ७४ लाख मतपत्र छाप्ने आयोगको योजना छ।"

आयोगका अनुसार धेरै चिन्ह भएका ठूलो आकारको मतपत्रमा मतदान गर्दा मतदाताहरु नअलमलिउन् भनेर समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने र प्रत्यक्ष तर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रंगको मसीले छापिएको छ।

दुई चरणमा गरी हुन लागेको निर्वाचन अन्तर्गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा र मंसिर २१ गते हुने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुनेछ।