सिट बाँडफाँट टुंग्याउँदै वाम गठबन्धन

  • 19 अक्टोबर 2017
वाम गठबन्धन

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँटको टुंगो बिहीबार रातीसम्ममा लगाउने जनाएको छ।

तर नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा छन्।

पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी दर्ता हुँदैछ।

सकारात्मक

एमाले सचिव प्रदीप ज्ञवालीले भने, "एकता संयोजन समिति र कार्यदलको संयुक्त बैठकले रातीसम्ममा सिट बाँडफाँट टुंगो लगाउँछ।"

गैर वाम तालमेलमा लागेका दलहरु तत्काल पहाडी र हिमाली जिल्लाका क्षेत्र बाँडफाँटमा जुटेका छन्।

संघीय समाजवादी फोरम नेपालका एकजना नेता रामसहाय प्रसाद यादवले कांग्रेससँग बिहीबार छलफल शुरु भएको र सकारात्मक रुपमा अघि बढेको बताए।

ठेगान

उनले भने, "पहिलो चरणका निर्वाचन क्षेत्रबारे टुंग्याएपछि अन्य जिल्लाबारे कुरा हुन्छ।"

गठबन्धनभित्रका अन्य दललाई दिएर बाँकी रहने कूल निर्वाचन क्षेत्रमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्र लिने सहमति भएको छ।

त्यसैले वाम गठबन्धनभित्रका दल आ-आफूले लिने चुनाव क्षेत्रको छनौटको अन्तिम चरणमा छन्।

तर कांग्रेस र अन्य दलबीच देशभरको निर्वाचन क्षेत्र बाँडफाँटबारे टुंगो नलागेकाले गठबन्धनको आकारको ठेगान लागिसकेको छैन।