जुवातास रोक्न कडा कानून आवश्यक

  • 20 अक्टोबर 2017
जुवा

दशैं तिहार जस्ता ठूला चाडबाडका बेला जुवातास खेल्नेहरुको संख्यामा हुनेगरेको बृद्धि नियन्त्रण गर्ने प्रहरीको प्रयास जनचेतनाको अभाव र फितलो कानूनी व्यवस्थाका कारण प्रभावकारी हुन नसकेको सम्बद्ध निकायहरुले जनाएका छन्।

यसपालिको चाडमा जुवातासको खालबाट तीनसयजना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तर जुवातास नियन्त्रणका लागि सरकारले नीतिगत सुधारका कदमहरु चाल्नुपर्ने एकजना अवकाशप्राप्त सुरक्षा अधिकारीले बताएका छन्।

कारबाही

प्रहरीका अनुसार चाडबाडमा रमाइलोको लागि जुवातास खेल्नेहरुको संख्या धेरै छ।

तर यति नै बेला व्यावसायिक रुपमा जुवा खेल्नेहरुले निकै ठूलो रकमको दाउ खेल्ने देखिएकोले त्यसले विकृति र अपराध जन्माउने गरेको छ।

त्यसलाई रोक्नका निम्ति यसपालिको दशैं र तिहारका बेला निकै कडा व्यवस्था अपनाएको बताउने प्रहरीले झन्डै तीनसय जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, "दशैंको समयमा हामीले विभिन्न स्थानबाट जुवा खेलिरहेका १ सय बढीलाई पक्राउ गर्यौं। तिहारमा १३ स्थानबाट १६६ जना पक्राउ परिसकेको छ। "

अनुभव

चाडबाडका बेला जुवातास खेल्नुलाई नेपालको कतिपय ठाँउमा परम्पराको रुपमा लिइने हुनाले यसमा आकर्षित हुनेहरुको संख्यामा बृद्धि भएको बताउनेहरु पनि छन्।

अर्कोतर्फ कानूनमा सजायको व्यवस्था निकै फितलो भएकोले पनि जुवा खेल्नेहरु हतोत्साही नहुने गरेको प्रहरीको अनुभव छ।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा पहिलोपटक पक्राउ परे २०० रुपैयाँमात्र जरिवाना तिरेर उम्किन पाँउछ।

दोस्रोपटक देखि भने बढीमा ९ महिना कैदसम्मको व्यवस्था छ।

पूर्व प्रहरी नायव महानिरिक्षक हेमन्त मल्ल भन्छन्, "२०२० सालमा बनेको ऐन अहिलेसम्म चलिरहेको छ। त्यतिबेला दुई तीनसय जरिवाना हुन्थ्यो अहिले पनि त्यही नै व्यवस्था भएछ। ऐन कानून कडा बनाउनु जरुरी छ। तर त्यो बनाउन चाहेकै देखिएको छैन।"

अवस्था

दशैँ र तिहार जस्ता ठूला चाडबाड बाहेक नेपालका गाँउघरमा अन्य बेलामा जुवा खेल्नेहरुको संख्या बढी रहेको तर शहरमा भने होटल वा अखडामा ठूलो रकममा जुवा खेल्नेहरु रहेको देखिन्छ।

यद्यपी प्रहरीले जुवातास खेल्नेहरुको अवस्था र त्यसको नियन्त्रणको बारेमा अझैसम्म कुनै अध्ययन अनुसन्धान नगरेकोले वास्तविकता थाहा पाउन नसकिएको बताइएको छ।

पूर्व नायब महानिरिक्षक मल्ल भन्छन्, "समाजलाई, कानूनलाई र प्रहरी प्रशासनलाई पनि सुधार गर्न जरुरी छ। यसको लागि अध्ययन पनि जरुरी छ। किनकी प्रहरीले थुप्रै विषयमा अध्ययन गर्ने गरेपनि जुवाको विषयमा कुनै अध्ययन भएको देखिंदैन। "

तर जुवातासकै कारण कतिपय स्थानमा सामाजिक अपराध तथा घरेलु हिंसाका घटना हुने गरेको विवरणहरु बेला बेलामा आउने गरेका छन्।