'क्षेत्रीय प्रशासन निलम्बनको योजना अस्वीकार्य'

  • 22 अक्टोबर 2017
स्पेन, प्रधानमन्त्री राखोय, क्याटलोनिया, स्वतन्त्रता तस्वीर कपीराइट EPA

स्पेनी सरकारको क्षेत्रीय प्रशासनलाई निलम्बन गर्ने निर्णयलाई 'कू' को रुपमा व्याख्या गर्दै क्याटलोनियाका नेताहरुले त्यसको निन्दा गरेका छन्।

क्याटलान नेता कार्लस पुजमोनले स्पेनी राज्यले कू गरेको भन्दै क्याटलोनियाको अधिकारबारे लड्नका लागि अपिल गरेका छन्।

टेलिभिजनमार्फत गरिएको सम्बोधनमा पुजमोनले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयको कदमलाई स्पेनका अधिनायकवादी शासक जेनेरल फ्रान्सिस्को फ्र्याङ्कोको कदमसँग दाँजे।

अंग्रेजीमा सम्बोधन गर्दै पुजमोनले क्याटलोनिया एउटा पुरानो युरोपेली राष्ट्र भएको र शान्तिपूर्ण र प्रजातान्त्रिक जनमतसंग्रहबाट आफ्नो भविष्यबारे निर्णय गर्नु अपराध नभएको बताए।

विरोध प्रदर्शन

प्रधानमन्त्री राखोयले क्षेत्रीय सरकार र संसदलाई निलम्बन गर्ने र ताजा निर्वाचन गराउने आफ्ना योजनाहरु घोषणा गरेपछि राजधानी बार्सिलोनामा लाखौं मानिसहरु विरोध प्रदर्शनमा उत्रिएका छन्।

उनले स्वायत्ततालाई खत्तम गरेको नभइ कानुनी शासनलाई पुनर्स्थापित गरेको बताए।

स्पेनी सिनेटले उनको प्रस्तावमाथि शुक्रबार मतदान गर्ने अपेक्षा गरिएको छ।

यसअघि राखोयले आफूले स्पेनी संविधानको धारा १५५ अनुसार उक्त योजना घोषणा गरेको बताएका छन्।

उक्त धारामा देशको अर्ध स्वायत्त क्षेत्रमा कुनै संकट पर्दा प्रत्यक्ष शासन लागू गर्नसक्ने व्यवस्था उल्लेख रहेको उनले बताए।

'घातक हमला'

यसैबीच, क्याटलन नेता कार्लस पुजमोनले आफ्नो क्षेत्रमा प्रत्यक्ष शासन लगाउने मड्रिडको योजनालाई क्याटलोनियाले स्वीकार नगर्ने बताएका छन्।

उनले यसलाई सन् १९३९ देखि १९७५ सम्म जेनेरल फ्र्याङकोले चलाएको अधिनायकवादी शासनयता भएको सबैभन्दा घातक हमलाको रुपमा व्याख्या गरेका छन्।

पुजमोनले स्पेनी सरकारले वार्ता गर्ने आफ्ना सबै प्रस्तावहरु अस्वीकार गरेर क्याटलान जनताहरुको प्रजातान्त्रिक इच्छाविपरित कदम चालिरहेको बताएका हुन्।

उनले स्पेनी प्रधानमन्त्री राखोयको योजनाबारे छलफल गर्न क्याटलान संसदमा एउटा सत्र आह्वान गर्ने बताए।

युरोपेली नगारिकहरुलाई अंग्रेजीमा सम्बोधन गर्दै उनले युरोपेली संघको मूल्यमान्यताहरु क्याटलोनियामा खतरामा परेको बताए।