जापानमा मतदान सम्पन्न

  • 22 अक्टोबर 2017
जापान तस्वीर कपीराइट REUTERS

जापानमा नियमित समयभन्दा एक वर्षअघि भएको आम चुनाव अन्तर्गत मतदान सम्पन्न भएको छ।

प्रधानमन्त्री सिन्जो आबेले चुनावमा सहजै जित हात पार्ने अपेक्षा गरिएको छ।

आधा दिनसम्मको मतदानको तथ्यांकको विश्लेषण गर्दा हालसम्म सबैभन्दा न्यून मत खसेको सन् २०१४ को आम चुनावमा भन्दा पनि कम मानिसले यस पटक भोट खसालेको पाइएको थियो।

अर्थतन्त्रलाई पुनर्जीवन दिने र विदेश नीतिका आफ्ना कडा अडानहरुलाई निरन्तरता दिने उद्देश्यले नियमित समयभन्दा एक वर्ष अगावै चुनाव गराउने निर्णय प्रधानमन्त्री आबेले अघिल्लो महिना लिएका थिए।

जित

यदी चौथो कार्यकालका लागि निर्वाचित भए, आबेले उत्तर कोरियाबाट आफ्ना देश विरुद्ध उत्पन्न परमाणु जोखिमसँग कुनै सम्झौता नगर्ने वाचा गरेका छन्।

उनले जापानको युद्ध नचाहने विश्वयुद्ध यताको शान्तिप्रेमी नीति अन्त्य गर्ने र त्यससम्बन्धी संविधानमा रहेको प्रावधान खारेज गर्ने प्रतिबद्धता जनाएका छन्।

मतदानको समयमा एउटा शक्तिशाली आँधीबेरीले जापानका अधिकांश क्षेत्रहरुमा भिषण वर्षा निम्त्याएको थियो।

धेरै जापानीहरु तोकिएको समयभन्दा अगावै चुनाव गराएकोमा प्रधानमन्त्री आबे प्रति खुसी छैनन्।

हालै गरिएको एउटा सर्वेक्षणमा जापानी नागरिकहरुले उनलाई खासै नरुचाएको देखाएको थियो।

तस्वीर कपीराइट AFP

सर्वेक्षणमा सहभागी लगभग आधाले उनी पदबाट हटेको हेर्न चाहेको जवाफ दिएका थिए।

तर पनि आबे जीततर्फ उन्मुख रहेको देखिन्छ।

यसको आंशिक कारण, एक जना विश्लेषकका भनाईमा, 'उनको विकल्पमा अरु कोही नहुनु हो।"

शुरुमा आबे विरुद्ध चुनाव लड्ने घोषणा गरेकी टोकियोकी लोकप्रिय गभर्नर युरिको कोइकेको लोकप्रियता खस्किरहेको देखिन्छ।

आइतबारको चुनावमा जित हासिल गरे विश्वयुद्धपछि जारी गरिएको जापानको संविधानमा नाटकीय परिवर्तनहरु गर्ने घोषणा आबेले गरिसकेका छन्।