‘मनोनयन दर्ता उत्साहजनक’

  • 22 अक्टोबर 2017
चुनाव

नयाँ संवैधानिक व्यवस्था अनुसार पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो हुने निर्वाचन प्रणालीतर्फ ३२ जिल्लामा उत्साहजनक ढंङ्गले उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले बताएको छ।

आइतबार राति नौ बजेसम्म प्रतिनिधिसभातर्फ ३२० जना र प्रदेशसभातर्फ ४८२ जनाले मनोनयन दर्ता गराएको विवरण संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ।

तर अझै पनि कतिपय जिल्लाबाट तथ्यांक आउन बाँकि रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीलाई जानकारी दिए।

पहिलो चरणमा उच्च पहाडी र हिमाली क्षेत्रमा हुने निर्वाचनमा कतिपय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

उत्साहजनक

बाजागाजा बजाउँदै र नारावाजी गर्दै चुनाव हुने जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेदवारहरुले साँझ अबेरसम्म मनोनयन दर्ता गराएका थिए।

मनोनयन दर्तालाई आगामी मंसिर १० गते हुने पहिलो चरणको चुनावको एउटा महत्वपूर्ण कार्यभारका रुपमा हेरिएको छ।

झण्डै ३२ लाख बढी मतदाता सहभागी हुने उक्त निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरुको सूची आइतबार प्रकाशन गर्ने आयोगले जनाएको छ।

पहिलो चरणको उम्मेदवारी दर्ता प्रकृया शान्तिपूर्ण र उत्साहजनक रुपमा अघि बढेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।

उनले भने, "अब भावी संसदको निर्माणको प्रकृया शुरु भएको छ। साँझ पाँच बजेभित्र मनोनयन दर्ता गर्न आएका उम्मेदवारहरुले दर्ता गर्ने काम अबेरसम्म पनि जारी छ। मनोनयन ज्यादै उत्साहजनक रुपमा सम्पन्न भएको छ।"

प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि उम्मेदवार हुन मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्दछ।

आचारसंहिता

प्रदेशसभाको उम्मेदवार हुन सोही प्रदेश भित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

महिला, दलित, अल्पसंख्यक उम्मेदवारको हकमा भने धरौटीमा ५० प्रतिशत छूट गरिएपनि प्रत्यक्ष सिटका लागि उनीहरुको उम्मेदवारी कम परेको अधिकारीहरु बताउँछन्।

प्रमुख गठबन्धनबाट प्रतिनिधिसभाका लागि यसपाली जम्मा तीनजना महिलाको उम्मेदवारी मनोनयन दर्ता भएको बताइएको छ।

उम्मेदवारको मनोनयन दर्ता भएपछि सबै उम्मेदवारलाई आचार संहिता लागू भएको प्रमुख आयुक्त यादवले बताए।

उनले भने, "सबै दलका उम्मेदवारले राजनीतिक सहमतिका आधारमा तयार भएको निर्वाचन आचारसंहिता पालना गरी चुनावलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन मद्दत पुर्याउनुहुनेछ भन्ने विश्वास आयोगले लिएको छ।"

चर्चित उम्मेदवारहरुमध्ये गोर्खा जिल्लामा नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई उनकै पुरानो पार्टी माओवादीका नेता नारायणकाजी श्रेष्ठसंग आमने सामने भएका छन्।

आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा कार्तिक १६ गते प्रदेश सभा र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सिटका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।