अल ओमार तेल खानी आइएसको नियन्त्रणबाट मुक्त

  • 22 अक्टोबर 2017
सिरिया तस्वीर कपीराइट AFP

सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर अल जुरमा रहेको एक महत्वपूर्ण तेल खानीलाई इस्लामिक स्टेट आइएस विद्रोहीको नियन्त्रणबाट खोसिएको बताएको छ।

सिरियाको सबभन्दा ठूलो मध्येको अल ओमार तेल खानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम भएको सिरियन डेमोक्रेटिक फोर्स एसडीएफले जनाएको छ।

उक्त तेल खानी युफ्रेटिज नदीको पूर्वमा पर्छ।

सिरियाको रक्का शहर आइएस नियन्त्रण मुक्त

लडाईं

एसडिएफका लडाकूहरुले देर अल जुरमा आइएस विद्रोहीविरुद्ध चर्को लडाईं गरिरहेका छन्।

गत महिना उनीहरुले एउटा ठूलो ग्यास खानी कब्जामा लिएका थिए।

युफ्रेटिज नदीको पश्चिमपट्टि भने रुसी सेनाको सहयोगमा सिरियाली सरकारी सेना आइएस विरुद्ध युद्धरत छ।

बेइरुतस्थित सम्वाददाता मार्टिन प्यासियन्स भन्छन् दिनैपिच्छे आइएसको स्वघोषित क्यालिफेट भत्किरहेको छ।

आइएसका निम्ति अल ओमार तेल खानी आम्दानीको एउटा महत्वपूर्ण स्रोत थियो।

कूर्दिश तथा अरब लडाकूहरु सामेल भएको एसडिएफका अनुसार उनीहरु तर्फ कुनै उल्लेखनीय क्षति विना नै सो तेल खानी उनीहरुले आफ्नो कब्जामा लिन सकेका हुन्।

गत साता उनीहरुले रक्का नगर नियन्त्रणमा लिएका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
रक्का शहर – आइएसको चिहान!

एक ताका रक्का नगर इस्लामिक स्टेटको राजधानीको रुपमा रहेको थियो।

अब ती आइएस विद्रोहीहरु विरुद्धको लडाईं उनीहरुको अन्तिम गढ मानिएको सिरियाको पूर्वी प्रान्त देर अल जुरमा केन्द्रित छ।

उक्त विद्रोही समूह विरुद्ध रुसी हवाई सेना तथा इरानी मिलिसियाको सहयोगप्राप्त सिरियाली सेनापनि युद्धरत छ।