'ट्रम्पले पतिको नाम नसम्झीदिंदा पीडा'

  • 23 अक्टोबर 2017
मेशिया जनसन तस्वीर कपीराइट Getty Images

लडाईंमा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले, राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गर्दा उनको श्रीमानको नाम सम्झन नसकेको भन्दै दु:ख र आक्रोश व्यक्त गरेकी छन्।

सार्जेन्ट ला डेभिड यसै महिनाको आरम्भमा निजेरमा मारिएका चारजना अमेरिकी सैनिकहरु मध्ये एक थिए।

उनकी श्रीमतीले एउटा अमेरिकी टेलिभिजन नेटवर्कसंग कुरा गर्दै राष्ट्रपतिको टेलिफोन कलले उनलाई झनै रुवाएको बताएकी थिइन्।

मेशिया जनसनले राष्ट्रपतिले उनका दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको थाहा पाउंदा त्यसबाट आफूलाई सबैभन्दा धेरै चोट पुगेको बताइन्।

"मेरो श्रीमान देशका लागि लड्न गएका थिए,उनले देशका लागि ज्यान दिए अनि तपाईं उनको नाम पनि सम्झन सक्नुहुन्न?", मेशिया जनसनको प्रश्न थियो।

हमला

यो महिनाको शुरुतिर निजेरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा सार्जेन्ट ला डेभिड जनसन मारिएका थिए।

राष्ट्रपति ट्रम्पले मृतककी श्रीमतीलाई फोन गर्दा गैरसंवेदनशील भएको भनेर डेमोक्रयाटिक कंग्रेसवुमन फ्रेडरिका विल्सनले लगाएको आरोपले समाचार शिर्षक बनेर चर्चा पाएको थियो।

ति विपक्षी नेतृको दावीलाई मृतक सैनिककी श्रीमतीले पुष्टि गरेकी हुन्।

कुराकानी

सोमबार विहान सामाजिक संजालको वेबसाइट ट्वीटरमा सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले ति महिलासंग सम्मानजनक वातावरणमा कुराकानी भएको बताएका छन्।

उनले टेलिफोन वार्ताको शुरु देखि नै आफूले विना कुनै कठिनाई ति मृतक सैनिकको नाम लिएको दावी पनि गरेका छन्।

विपक्षी नेतृको दावीलाई राष्ट्रपतिले 'कपोकल्पीत' भनेर खारेज गरेका छन्।

ह्वाइट हाउसले मृतक सैनिकका परिवारजनसंग राष्ट्रपतिले गर्ने सम्वाद निजी मामिला भएको बताएको छ।