केन्द्रको कदम अवज्ञा गर्ने क्याटलान सोच

  • 23 अक्टोबर 2017
क्याटलान तस्वीर कपीराइट Getty Images

क्याटलोनियाको क्षेत्रीय संसदले स्पेन सरकारले उस्लाई अधिकारविहीन बनाउने अनुमान गरिएको समयभन्दा एक दिन अगाडि, विहीबार, आगामी बैठक बस्ने घोषणा गरेको छ।

क्याटलान संसदले मड्रिडले त्यहां आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमप्रति कस्तो प्रतिक्रिया जनाउने भन्ने त्यसबेला छलफल गरिने बताएकोछ।

तर शक्ति संघर्ष जारी रहंदा उक्त संसदले एकतर्फी रुपमा नै स्वतन्त्रताको घोषणा गर्न सक्ने अनुमान भैरहेको छ।

स्पेनको केन्द्रीय संसद,सिनेट,ले क्याटलोनियाका केही अधिकार फिर्ता लिन केन्द्र सरकारले गरेको प्रस्तावलाई शुक्रबारको बैठकबाट अनुमोदन गर्ने अनुमान छ।

बेवास्ता

क्याटलोनियाका विदेश मामिला प्रवक्ताले भनेका छन् त्यस्तो कदमलाई स्थानीय अधिकारीहरुले बेवास्ता गर्नेछन्।

उनले आफूले मड्रिडबाट आउने कुनै पनि आदेश पालना नगर्ने बताएका छन्।

उनले केन्द्र सरकार क्याटलान जनताको चाहना विपरीतको कार्यमा लागेको बताए।

योजना

स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटलन क्षेत्रको सरकारलाई बर्खास्त गर्ने र त्यहांको संसदलाई प्राप्त केही स्वतन्त्र अधिकारहरु कटौती गर्ने योजनाको घोषणा गरिसकेका छन्।

तस्वीर कपीराइट AFP

विहीबार बैठक बसेर क्याटलान संसदले त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउने बताइएको छ।

स्वतन्त्रता पक्षधर नेताहरुले एकतर्फी रुपमा नै स्वतन्त्रता सम्बन्धी घोषणालाई अनुमोदन गर्ने निर्णय लिन सक्नेछन्।

स्पेनको सिनेटको शुक्रबारको बैठकमा केन्द्र सरकारले प्रस्तुत गरेको खाकामा क्याटलोनियामा नयां निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

स्पेनकी उपप्रधानमन्त्री सोराया साएन्ज डी सान्तामारिया भन्छिन्, क्याटलान नेता कार्लेस पुज्डमोनले उनको सबै अधिकार गुमाउने र तलब पनि नपाउने हुनसक्छ।