नाइजेरियाः क्याम्पसहरुमा सपेरा राखिंदै

  • 24 अक्टोबर 2017
सपेरा
Image caption फाइल फोटो

उत्तर-पश्चिमी नाइजेरियास्थित एउटा विश्वविद्यालयले क्याम्पसहरुमा सर्पदंशका घटना बढ्न थालेपछि उक्त समस्यासँग जुझ्न सर्पलाई वशमा पार्ने सपेराहरु राख्न थालेको छ।

गत हप्ता मात्रै सर्पले टोक्दा उमारु मुसा यारअडुआ विश्वविद्यालयमा अध्ययनरत अर्थशास्त्रकी एकजना विद्यार्थी जैनब उमरको मृत्यु भएको थियो।

उनी अर्थशास्त्रको अन्तिम वर्षकी विद्यार्थी थिइन्।

एकजना डिन सुलेमान कंकाराले पछिल्लो सर्पदंशको घटना हुनुअघि पनि सपेराहरु राखिएको बताए।

चलन

सपेराहरुले सर्पलाई वशमा पार्ने चलन दक्षिण एसियाली मुलुक र अफ्रिकाका केही भागमा रहिआएको छ।

सर्पले टोकेपछि विश्वविद्यालयको क्लिनिकमा उपचार गराइरहेकी छात्रा उमरलाई उनका भाइ र साथीले त्यहाँबाट लगेका थिए।

सपेराहरुले बिन बजाउने गर्छन् र सर्पहरु तिनीहरुको निकै नजिक आएर प्रतिक्रिया जनाउँछन्।

तस्वीर कपीराइट Science Photo Library

आश्चर्यलाग्दो कुरा के हो भने सपेराहरुले त्यसरी बिन बजाउँदा फण फुकाउने गोमन सर्पले पनि उनीहरुलाई आक्रमण गर्दैन।

नाइजेरियामा सपेराहरुले चटक देखाउने बेला नाङ्गो हातले गोमन सर्प समाइदिन्छन् र कहिलेकाहीं त्यस्ता चटक हेर्नेको निकै भीड लाग्ने गर्दछ।

उत्तरी नाइजेरियामा सपेराहरुले चटकलाई मनोरञ्जनको एउटा माध्यमको रुपमा लिइन्छ।