केन्याको निर्वाचनबारे अदालतमा सुनुवाई हुँदै

  • 24 अक्टोबर 2017
केन्या निर्वाचन तस्वीर कपीराइट AFP

केन्याको सर्वोच्च अदालतले राष्ट्रपतिको पुनः निर्वाचन हुन २४ घण्टाभन्दा पनि कम समय बाँकी रहँदा निर्वाचन योजना अनुसार अघि बढ्न सक्छ या सक्दैन भन्नेबारे निर्णय गर्न बुधबार अन्तिम समयमा सुनुवाई गर्दैछ।

निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष चुनाव गर्न सक्ने वा नसक्ने बारे प्रश्न उठाउँदै हालिएको रिटको सम्बन्धमा अदालतले सुनुवाई गर्दैछ।

केन्यामा उहुरु केन्याटा पुन: राष्ट्रपति

केन्यामा ओडिंगालाई विजयी घोषणा गर्न माग

यसअघि एउटा अभूतपूर्व निर्णय गर्दै केन्याको सर्वोच्च अदालतले गत अगस्टमा भएको चुनावमा अनियमितताहरु भएको भन्दै मतपरिणाम रद्द गरेको थियो र पुनः निर्वाचन हुनु पर्ने भनेको थियो।

रिट

राष्ट्रपतिको पुनः निर्वाचन हुन २४ घण्टाभन्दा पनि कम समय बाँकी रहँदा केन्याको सर्वोच्च अदालतले निष्पक्ष चुनाव हुनेमा आशंका गर्दै हालिएको रिटमाथि बुधबार सुनुवाई गर्दैछ।

न्यारोबीस्थित बीबीसीका संवाददाता एलेस्टर लिटहेड भन्छन् उक्त रिटमा अगष्टमा भएको निर्वाचन पुन: गर्नुको साटो पूरै निर्वाचन प्रक्रिया नै शुरुदेखि दोहोर्‍याउन माग गरिएको छ जसले यी सम्पूर्ण प्रक्रिया महिनौँ पछाडि धकेलिन सक्छन्।

साथै निर्वाचनसम्बन्धी कानुन, संविधानको प्रावधान तथा अदालतहरुले तिनलाई गरेका व्याख्याका माझ निकै अस्पष्टता देखिएको छ।

केन्याका प्रमुख विपक्षी नेता राईला ओडिंगाले त्यस्तै एक फैसलालाई औंल्याउँदै आफूले चुनाव बहिष्कार गर्नुपर्नाको एक कारण सो पनि रहेको उल्लेख गरेका छन्।

उनले राष्ट्रपतीय पुनः निर्वाचन निस्पक्ष नहुने र त्यसले जनताको आकांक्षाको प्रतिनिधित्व नगर्ने बताएका छन्।

सुधार

केन्याली राष्ट्रपति उहुरु केन्याटाले भने चुनाव निर्धारित मितिमा नै हुनुपर्नेमा भनेका छन् र निर्वाचन सुधार सम्बन्धी एक विवादास्पद विधेयकमा हस्ताक्षर गरेका छन्।

उनको हस्ताक्षरसँगै उक्त विधेयक ऐन बन्दैछ।

सन् २००७ मा भएको विवादास्पद राष्ट्रपतीय चुनावपछि केन्यामा हिंसा भड्किँदा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।