अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

  • 27 अक्टोबर 2017
अष्ट्रेलिया, उपप्रधानमन्त्री, जोइस तस्वीर कपीराइट EPA

अष्ट्रेलियाको एउटा उच्च अदालतले त्यहाँका उपप्रधानमन्त्री बर्नबी जोइस र अन्य चार राजनीतिज्ञले दोहोरो नागरिकता लिएको भन्दै उनीहरु गलत तरिकाले निर्वाचित भएको फैसला सुनाएको छ।

अदालतको उक्त निर्णयको मतलब अब उपप्रधानमन्त्री जोइससहित तीन राजनीतिज्ञहरु कार्यालयमा रहन अयोग्य भएका छन्।

बाँकी अन्यले भने गत जुलाई मै कार्यालय छोडिसकेका छन्।

प्रावधान

अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचित हुन प्रतिबन्ध लगाएको छ।

उनी बाहिरिएपछि अष्ट्रेलियाको सरकारको बहुमत रहने छैन।

तर, उनी उप निर्वाचनबाट फर्किन पनि सक्छन्।

गत अगष्टमा न्यूजिल्याण्डको नागरिकता त्यागेका उनले तल्लो सदनका लागि पुन निर्वाचित गर्न आह्वान गरेका थिए।

'सम्मान'

अदालतको फैसला लगत्तैपछि बोल्दै उनले भने, "अदालतको फैसलाको म सम्मान गर्छु।"

अन्य चार राजनीतिज्ञहरु सिनेटका लागि निर्वाचित भएका थिए।

यद्यपी विपक्षी लेबर पार्टीले भने उपप्रधानमन्त्री रहँदा जोइसले गरेका सबै निर्णयहरुको पुनर्समीक्षा हुनुपर्ने बताएको छ।