'आधाभन्दा बढी महिला यौन दुर्व्यवहार पीडित'

  • 27 अक्टोबर 2017
महिला

ब्रिटेनका आधा महिला र पाँचमध्ये एक पुरुषले कार्यस्थलमा वा शैक्षिक संस्थाहरुमा यौन दुर्व्यवहारको सामना गर्नुपरेको बीबीसीको एक सर्वेक्षणले जनाएको छ।

दुर्व्यवहारको शिकार भएका बताउने महिलामध्ये ६३ प्रतिशतले कसैका समक्ष उजुरी नदिएको र ७९ प्रतिशत पुरुषले उक्त घटना कसैलाई नभनेको बताएका छन्।

बीबीसी रेडियो फाईभ लाईभले गरेको सर्वेक्षणका क्रममा दुई हजारभन्दा बढी मानिससँग कुरा गरिएको थियो।

हलिउडका एक निर्माता हार्भी वाइन्स्टिनले महिलाहरुमाथि यौन दुर्व्यवहार गरेका आरोपहरु सार्वजनिक भएपछि धेरै जनाले त्यस्तै किसिमका दुर्व्यवहार आफूहरुले पनि सामना गरेको भन्दै अनुभव साट्ने क्रमसंगै उक्त सर्वेक्षण गराइएको थियो।

दुर्व्यवहार

यौन दुर्व्यवहारको सामना गरेका महिला र पुरुषहरुले 'मि टू' अर्थात 'म पनि' भन्ने ह्याशट्याग राख्दै विश्वव्यापीरुपमै त्यस्तो समस्या विकराल रहेको देखाउने गरि आ-आफ्ना अनुभव सामाजिक संजालमा साटेका थिए।

वाइन्स्टिन विरुद्ध हलिवुड अभिनेत्रीहरु गुईनेथ पाल्ट्रो, एन्जेलिना जोली र रोज मागोवान लगायतका दुई दर्जनभन्दा बढी महिलाले बलात्कार तथा यौन दुर्व्यवहारका आरोप लगाएका थिए।

वाइन्स्टिनले भने आफूले यौन सम्बन्ध सहमतिमै राखेको बताउँदै आएका छन्।

रेडियो फाईभ लाईभको सर्वेक्षणमा २०३१ जना ब्रिटिश वयस्कहरु समावेश गरिएका थिए। सर्वेक्षणमा ३७ प्रतिशतले यौन दुर्व्यवहारको सामना गरेको बताए।

सर्वेक्षणमा सहभागी मध्ये ५३ प्रतिशत महिला र २० प्रतिशत पुरुषले कार्यस्थल वा शैक्षिकस्थलमा अनुचित टिप्पणी देखि लिएर यौन दुर्व्यवहारसम्म खेपेको जनाएका छन्।

एक चौथाई भन्दा बढीले अश्लिल खालका चुट्किलाहरु सुन्नुपरेको र झण्डै सात जनामा एकजनाले आफूले अप्ठेरो महसुस गर्ने गरि स्पर्श गरिएको बताएका छन्।

फाईभ लाईभको सर्वेक्षणअनुसार दुर्व्यवहार खेपेका १० मध्ये एकजना महिलाले यौन दुर्व्यवहारको शिकार भएको बताएका थिए।

पुरुषभन्दा धेरै महिलालाई कम्पनीका मालिक वा वरिष्ठ प्रबन्धकले निशानामा पारेको सर्वेक्षणले देखाएको छ।

त्यस्तो किसिमको दुर्व्यवहारमा पर्ने महिलाको संख्या ३० प्रतिशत र पुरुषको संख्या १२ प्रतिशत रहेको र १० पीडित महिलामध्ये एकजनाले दुर्व्यवहारकै कारण जागिर वा पढ्दै गरेको शैक्षिक संस्था छोडेको बताएका छन् ।

क्यामब्रिजकि स्याराह किलकोयनले पढ्दै गर्दा दुई पुरुषले यौन दुर्व्यवहार गरेको बताइन्। किशोरावस्थामा हुँदा विद्यालयका शिक्षक र पछि क्याम्पसका प्राध्यापकबाट दुर्व्यवहार भएको उनले बताइन्।

कम उजुरी

मानिसहरु प्रायःजसो धेरै वटा कारणले यौन दुर्व्यवहारका बारे बताउन वा उजुरी गर्न असफल हुने एक्सेटर विश्वविद्यालयकी सामाजिक र संगठनात्मक मनोविज्ञानकी प्राध्यापक म्यानुएला बारेटोले बीबीसीलाई बताइन्।

उनीहरुले त्यस्ता दुर्व्यवहार सोझै नभएको वा ठट्टामा भएको हुनसक्ने ठान्दछन्।

तर जब संचारमाध्यममा दुर्व्यवहारको एउटा घटना बारे खुलासा गरिन्छ तब ती असरहरु बदलिन थाल्छन्।

"यसले बुझाईमा मद्दत पुर्‍याउँछ। अनि कस्ता गतिविधि यौन दुर्व्यवहार हुन् भनेर छुट्ट्याउन मद्दत पुग्छ।"

"यसले के सन्देश दिन्छ भने यो गम्भीर समस्या हो। साथै यो समस्या हो भन्ने सोचलाई समर्थन गर्ने बाहिर धेरै जना रहेछन् भन्ने पनि यसले अनुभव गराउँछ।"

#मि टू अभियान

अभियानकर्मी तराना बुर्क सबभन्दा पहिला शुरु गरिएको #मि टू अभियान की संस्थापक हुन्।

उक्त अभियान संयुक्त राज्य अमेरिकामा यौन हिंसा, आक्रमण, शोषण र दुर्व्यवहारका पीडितहरुलाई 'सहानुभूतिका माध्यमबाट सशक्तिकरण' प्रदान गर्न १० वर्ष अघि शुरु गरिएको थियो।

यौन दुर्व्यवहारका घटना विरुद्ध कसरी परिवर्तन ल्याउने भन्नलाई अहिले यो अभियानले नयाँ गति पाएको आफूलाई लागेको उनले बताइन्।