शिर जोडिएका भारतीय जुम्ल्याहाको शल्यक्रिया

तस्बिर स्रोत, AIIMS
भारतको राजधानी दिल्लीमा शल्यचिकित्सकहरुले शिर जोडिएका जुम्ल्याहा बालकको शल्यक्रिया गरी उनीहरुलाई छुट्याएका छन्।
दुई वर्षीय जागा र कालियालाई छुट्याउन १६ घन्टा लामो शल्यक्रिया भएको थियो र उनीहरु अहिले सघन उपचार कक्षमा रहेको चिकित्सकहरुले बताएका छन्।
भारतमै पहिलो भनिएको यस्तो किसिमको शल्यक्रिया ३० सदस्यीय चिकित्सकको एक टोलीले एक सरकारी अस्पतालमा गरेका थिए।
ती बालकका रक्तनली र मस्तिष्कका तन्तु जोडिएका थिए। निकै दुर्लभ किसिमको यस्तो अवस्था तीस लाख वटा जन्ममध्ये एउटामा देखिने बताइन्छ।
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) का निर्देशक रणदीप गुलेरियाले प्रेस ट्रस्ट अफ इन्डियालाई भने, "शल्यक्रियाको सफलताबारे निर्क्यौल गर्न अबका १८ दिन निकै महत्वपूर्ण हुनेछ।"
चुनौती
तस्बिर स्रोत, AIIMS
जुम्ल्याहा बालकहरुलाई १६ घण्टा लामो शल्यक्रियापश्चात छुट्याइएको थियो।
पूर्वी भारतीय राज्य उडिसाका एक गाउँका ती जुम्ल्याहाको जन्मिँदा टाउको जोडिएको थियो। त्यस्तो अवस्थालाई क्रेनियोपिगस भनिन्छ।
शल्यक्रिया गरिनुअघि नै उनीहरुले ठूलो चुनौतीलाई परास्त गरिसकेका थिए। क्रेनियोपिगस हरेक तीस लाख जन्ममध्ये एक जन्ममा हुन्छ र त्यसरी जन्मिएकामध्ये ५० प्रतिशतको जन्मेको २४ घण्टाभित्रै ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन्।
"दुवैजना बच्चामा अन्य स्वास्थ्य समस्याहरु पनि रहेका छन्। जागाको मुटुमा समस्या छ भने कालियाको मृगौलामा समस्या छ," स्नायु शल्यचिकित्सक विशेषज्ञ एके महापात्रले भने।
"जागा शुरुमा स्वस्थ्य भए पनि उनको अवस्था अहिलो खस्कँदो छ," उनले थपे।
चिकित्सकहरु बताउँछन् - शल्यक्रियापछि ती बालकहरुको टाउकोमा खाल्डोजस्तो भएको छ। ती छोप्न चाहिने छाला उपलब्ध गराउनु सबैभन्दा चुनौतीपूर्ण कार्य रह्यो।