कुर्द राष्ट्रपति बर्जानीद्वारा राजीनामा

  • 30 अक्टोबर 2017
कुर्द, इराक, मसुद बर्जानी तस्वीर कपीराइट AFP/GETTY

इराकको कुर्दिस्तानका पूर्व राष्ट्रपति मसुद बर्जानीले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन्।

टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको बताए।

उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन्।

बचाउ

चारदिन भित्र क्षेत्रीय राष्ट्रपतिको कार्यकाल सकिन लागेका बर्जानीले आइतबार एउटा पत्रमा आफूले कार्यकाल लम्ब्याउन नचाहेको उल्लेख गरेका थिए।

क्षेत्रीय सांसदहरुले बर्जानीको निर्णयको समर्थन गरेका छन्।

संसदलाई पत्र बुझाएपछि कुर्दिस टेलिभिजनबाट प्रशारण गरिएको भाषणमा बर्जानीले ३० लाख मानिसहरुले स्वतन्त्रताको पक्षमा मत खसालेर इतिहास रचेका र यसलाई मेटाउन नसकिने बताए।

सेप्टेम्बर २५ तारिखका दिन भएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा उल्लेख्य मानिसहरुले कुर्दिस्तान अलग हुने पक्षमा मत खसालेका थिए।

तस्वीर कपीराइट AFP/GETTY

आरोप

उनले राजनीतिक प्रतिद्वन्द्वीहरुले तेलका लागि धनी मानिएको किरकुक क्षेत्र कुनै लडाईँ बिना नै इराकी फौजलाई दिएर देशद्रोह गरेको आरोप लगाए।

७१ वर्षीय नेताको कुर्दलाई स्वतन्त्र बनाउने सपना चक्नाचुर भएको भन्दै कुर्द समर्थकहरु निकै असन्तुष्ट देखिएका छन्।

उनको राजीनामा पछि इरबिलस्थित कुर्दिस संसदमा आक्रोसपूर्ण दृश्यहरु देखिएका थिए।

बर्जानीले पद छोड्न गरेको निर्णयबारे संसदमा छलफल भइरहँदा बर्जानीका केही समर्थकहरु संसद भवन प्रवेश गरेर विरोध जनाएका थिए।

त्यहाँको अवस्थाबारे स्पष्ट भइसकेको छैन तर केही प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीहरुले लाठी बोकेको देखिएको थियो र त्यहाँ केही गोली चलेको पनि सुनिएको थियो।