बालकृष्ण ढुंगेल पक्राउ, माओवादी क्रुद्ध

  • 31 अक्टोबर 2017
BalKrishna Dhungel

सशस्त्र द्वन्द्वकाल सम्बन्धी घटनाका कारण पक्राउ परेका माओवादीका पूर्व सभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले अदालतको अनुमतिमा डिल्लीबजारस्थित सदरखोरमा चलान गरेको छ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेलले सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए।

माओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल पक्राउ

सर्वोच्च अदालतबाट फैसला हुनुअघि ढुंगेल २०६४ सालमा ओखलढुंगाबाट नै सभासद् निर्वाचित भएका थिए।

सभासद् भएकै अवस्थामा उनलाई उक्त सजाय सुनाइएको थियो।

तर फैसलापछि पनि बेलाबखत सार्वजनिक रुपमा देखापरे पनि उनी लामो समय पक्राउ परेका थिएनन्।

प्रतिक्रिया

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा उनलाई आममाफी दिन गरिएको सिफारिस अदालतले रोकिदिएको थियो।

अहिले उनी पक्राउ पर्नुलाई कतिपयले वाम गठबन्धन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरेका छन्।

तर एकजना मानवअधिकारकर्मी अधिवक्ता गोविन्द बन्दीले भने, "यसबाट न्याय हुँदो रहेछ र शान्ति प्रकृयाको उद्देश्य न्याय पनि रहेछ भन्ने परेको छ। त्यसैले यसले शान्ति प्रकृया बिगार्ने वा नेपालको राजनीतिक घट्नाक्रमलाई अन्यत्र मोड्ने काम गर्दैन।"

राष्ट्रिय मानव अधिकार आयोगका एकजना सदस्य सुदीप पाठकले भने नेपालको शान्ति प्रकृया र संक्रमणकालीन न्यायमा ढुंगेलको गिरफ्तारीले दीर्घकालीन असर पर्ने बताएका छन्।

सर्वोच्चको फैसलापछि मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले आफूहरुले २०६६ सालमै अदालतबाट फैसला भएपछि नै न्याय पाउनु पर्नेमा दोषी पक्राउ पर्न नसकेपछि पटक-पटक अदालतको ढोका ढक्ढक्याउनु परेकोमा दु:ख व्यक्त गरेकी छन्।

उनले भनिन्, "अब कुनै पनि बहानामा दोषी नछुटोस्। केही राजनीतिक दलहरु छुटाउन लागेका छन् भन्ने सुनेकी छु तर त्यो सफल नहोस्। नेताहरुले अपराधीलाई संरक्षण नदिऊन्।"

क्रुद्ध

आफ्नो पार्टीसम्बद्ध नेता पक्राउ परेकोमा माओवादीले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ।

निर्वाचनको मुखमा पक्राउ पर्नुले षड्यन्त्र भएको देखिने पार्टीकी प्रवक्ता पम्फा भुषालले बीबीसीलाई बताइन्।

"विस्तृत शान्ति सम्झौताअनुसार यस्ता विषय सत्यनिरुपण आयोगबाट टुंग्याइने भनिएकोमा एकाएक पक्राउ पर्नु दुर्भाग्यपूर्ण हो," उनले भनिन्।

सर्वोच्च अदालतले सजाय सुनाए पनि उनलाई पक्राउ नगरेको भन्दै गतहप्ता प्रहरीविरुद्ध अवहेलनाको रिट दायर गरिएको थियो।