उत्सर्जनका लक्ष्य भेट्न मुस्किल: राष्ट्रसंघ

  • 31 अक्टोबर 2017
वातावरण तस्वीर कपीराइट Getty Images

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनमा विश्व, हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य भेट्ने दिशामा नरहेको बताएको छ।

विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियससम्म मात्र पुग्न दिने अन्तर्राष्ट्रिय सहमति अनुसार ती लक्ष्य राखिएका थिए।

खतरनाक

राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार प्यारिस सम्झौतामा गरिएका उत्सर्जन कटौतीका वाचा खासमा जलवायु परिवर्तनका खराब असरबाट जोगिन आवश्यकभन्दा एक तिहाई मात्र छ।

सो निकायका प्रमुख एरिक सोल्हेमका अनुसार यो भनेको खतरनाक हो।

बुधबार जर्मन शहर बोनमा प्यारिस सम्झौताका निर्देशिकाबारे छलफल गर्न मन्त्रीहरु भेला हुँदैछन्।

खासमा विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियससम्म मात्र पुग्न दिने भनिए पनि हालसम्म गरिएका कटौतीका वाचाले सन् २०३० सम्म त्यो लक्ष्य भेट्ने दिशामा एक तिहाई मात्र मद्दत गर्न सक्ने सो प्रतिवेदनमा उल्लेख छ।

यदी सबै वाचाहरु पूरा गरिए पनि सन् २१०० सम्म विश्वको औसत तापमान तीन डिग्री सेल्सियसले बढ्न सक्छ।

सन् २०१० यता राष्ट्रसंघले वर्षेनी उत्सर्जनबारे विश्लेषण प्रस्तुत गर्दै आएको छ।

सन् २०१४ यता मानव गतिविधि खासगरि खनिज इन्धनको प्रयोगका कारण हुने उत्सर्जन वृद्धि रोकिएको छ। तीव्र गतिमा विस्तार भइरहेको पुनर्नवीकरणीय उर्जाको प्रयोग तथा चीन र अमेरिकामा कोइला प्रयोगमा कटौतीले त्यो वृद्धि रोकिएको बताइन्छ।

तर त्यति हुँदाहुँदै पनि सोमबार विश्व मौसम संगठन डब्लुएमओले प्रकाशित गरेको विवरणमा सन् २०१६ मा पृथ्वीको वायुमण्डलमा उच्च परिमाणमा हरितगृह ग्यास कार्बन डाइअक्साइड फेला परेको जनाइएको थियो।