कांग्रेस नीति: ‘वामपन्थीविरुद्ध हमला, मधेशीसँग सहकार्य’

  • 31 अक्टोबर 2017
कांग्रेस तस्वीर कपीराइट PM Secretariat

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले तराई केन्द्रित दलको प्रशंसा गर्दै 'मधेशको विकाश र मधेशी जनताको अधिकार'को निम्ति उनीहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी गठबन्धन गर्न खोजेको कांग्रेसले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै त्यस्तो धारणा प्रकट गरेको हो।

घोषणा-पत्रमा खासगरी तराईमा जनाधार रहेको देखिएका दललाई आकर्षित गर्न खोजेको देखिन्छ।

तर नेकपा एमाले र सत्ता-सहयात्री नेकपा माओवादी केन्द्रविरुद्ध तीव्र हमला गर्नुका साथै गम्भीर आरोप लगाइएको छ।

उद्घोष

कांग्रेसले संविधान संशोधनबाट समस्या समाधान खोज्ने तराई केन्द्रित दलको कदमको प्रशंसा र स्वागत गरेको छ।

मधेशी जनताको अधिकार, रोजगारी, राज्य संरचनामा पहुँच र प्रतिनिधित्वको विस्तार एवं विकासको मुद्दामा ती दलसँग सहकार्य गर्ने उसको योजना छ।

संविधान जारी गर्दा सहकार्यमा रहेका दलप्रति चरम अविश्वास र आक्रोश व्यक्त गरेको कांग्रेस पार्टीका नेताले पनि संविधान जलाएका दलसँगको निकटताको अपेक्षा खुलेरै प्रकट गरेका छन्।

घोषणापत्र सार्वजनिक गर्दा कांग्रेस नेता रामचन्द्र पौडेलले भने, "संविधान जलाएका दलले समेत प्रश्न नउठाएको यो संविधानका मौलिक पक्षमा संविधान जारी गर्न उभिएका केही दलहरुले प्रश्न उठाउने धृष्टता गरेका छन्, दुई तिहाई बहुमत पुर्याएर देशलाई निरङ्कुशतातिर लैजाने उद्घोष गरेका छन्।"

तस्वीर कपीराइट PM secretariat

दाउ

कांग्रेसले घोषणापत्रमा आफ्नो परम्परागत जनाधार क्षेत्र मानिने तराईको जनमतलाई आफ्नो पक्षमा पार्न दिएको स्थानभन्दा धेरै एमाले र माओवादी केन्द्रविरुद्धको आक्रोश र आरोपमा खर्चिएको छ।

चुनावमा बल प्रयोग, एकदलीय शासन स्थापना लगायतका योजना र षड्यन्त्रमा वामपन्थी गठबन्धन बनेको कांग्रेसको ठम्याइ छ।

आफूसँग लामो संसदीय अभ्यास गरेको एमाले र पछिल्लो दशक सघन राजनीतिक सहकार्यमा रहेको माओवादी केन्द्रलाई आफ्नो आधिकारीक दस्तावेजमा अतिवादी, अधिनायकवादी, षड्यन्त्रकारी जस्ता आरोपहरु लगाएको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि खुलेरै वामपन्थी गठबन्धनको आलोचना गर्दै भने, "देश अहिले अप्ठेरोमा छ, प्रजातन्त्र विरोधी शक्ति एक भएका छन्। देश कम्युनिष्ट अधिनायकवादतर्फ जाने डर सबैलाई भइसकेको छ।"

तर कतिपयले कांग्रेसको नीतिलाई वामपन्थी गठबन्धनबाट स्वतन्त्रता हरण हुने त्रास रहेको सन्देश फैलाएर राजनीतिक लाभ लिने दाउको रुपमा लिएको पाइन्छ।