ऊर्जा उत्पादन केन्द्रमा विस्फोट, १६ को मृत्यु

  • 1 नोभेम्बर 2017
विष्फोट तस्वीर कपीराइट Anubhav Swaroop

भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा उत्पादन केन्द्रमा भएको विस्फोटमा १६ जनाको ज्यान गएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्।

विवरणहरुका अनुसार कोइलाबाट बिजुली निकालिने सो उत्पादन केन्द्रमा एउटा पाइप फुट्दा सो विस्फोट भएको थियो।

राहत

उत्तर प्रदेश राज्यको रायबरेली जिल्लामा रहेको उक्त ऊर्जा उत्पादन केन्द्र भारतको सबभन्दा ठूलो सरकारी ऊर्जा उत्पादन कम्पनी न्यासनल थर्मल पावर कर्पोरेसन एनटिपीसीको स्वामित्वमा रहेको छ।

त्यहाँ बुधबार विस्फोट भएको समयमा सयौं कामदारहरु उपस्थित रहेको बताइएको छ।

उत्तर प्रदेश प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक आनंद कुमारले बीबीसीलाई बताए अनुसार घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

आनंद कुमारका अनुसार घटनास्थल सबै उच्च अधिकारी पुगेर राहत तथा उद्धारमा खटिएका थिए।

बुधबार दिउँसो सो ५ सय मेगावाट बिजुली उत्पादन गर्ने हाल परीक्षणमै रहेको युनिटको बोइलरमा उक्त घटना भएको थियो।

हाल मरिशशको भ्रमणमा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकका परिवारका लागि भारु दुई लाखको क्षतिपूर्तिको घोषणा गरेका छन्।