राजपा-फोरम मनाउने कांग्रेसको कसरत

  • 1 नोभेम्बर 2017
राजपा नेपालका नेताहरु (फाइल फोटो)
Image caption प्रदेश नम्बर दुईमा "असमान ढंगले" टिकट बाँडफाँट गर्न लागिएको भन्दै आफूहरु गठबन्धनबाटै अलग हुनसक्ने चेतावनी दिएका छन्।

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको लागि मनोनयन दर्ताको अघिल्लो साँझसम्म नेपाली कांग्रेसले आफ्नो गठबन्धनका उम्मेद्वार बाँडफाँटको टुंगो लगाउने कसरत जारी राखेको छ।

एक कांग्रेस नेताका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा-प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टी- नेपाल र संघीय समाजवादी फोरमका नेताहरुबीच टिकट बाँडफाँटको विषयमा छलफल तीव्र बनाइएको छ।

सो वार्ता बुधबार राति अबेरसम्मै चल्न सक्ने बताइएको छ।

राजपाका एक नेताले भने प्रदेश नम्बर दुईमा "असमान ढंगले" टिकट बाँडफाँट गर्न लागिएको भन्दै आफूहरु गठबन्धनबाटै अलग हुनसक्ने चेतावनी दिएका छन्।

मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेद्वारहरुले बिहिबार आफ्नो मनोनयन दर्ता गर्नु पर्नेछ।

वाम गठबन्धनले आफ्ना उम्मेदवार बाँडफाँट साँझसम्म लगभग् सिध्याएको जानकारी दिएको छ।

'विवाद'

नेपाली कांग्रेसले चाहिँ प्रदेश नम्बर दुईका विभिन्न स्थानमा तालमेलका विषयमा तराई केन्द्रित दलहरुसँग राति अबेरसम्म वार्ता गरेपछि मात्रै सिट बाँडफाटको विषय टुंग्याइने सो दलका एक नेता बालकृष्ण खाणले बताए।

उनले भने, "कांग्रेस र राजपाबीच सम्भाव्य तालमेलबारे वार्ता जारी छ। वार्ता सकारात्मक ढंगले अघि बढेको छ।"

तर राजपा-नेपालका एक नेता मनिषकुमार सुमनले नेपाली कांग्रेसले प्रदेश नम्बर दुईका कैयौं स्थानमा आफ्नो दाबी नछोडेकोले उसँगको तालमेलको सम्भावना लगभग सकिएको प्रतिक्रिया दिए।

उनल‍े भने, "'पहिलाका चुनावमा हामीले यति भोट ल्यायौं' भन्ने जस्ता दम्भ छोडेर खुल्ला भएर वार्ता गरेमात्रै सहमति जुट्न सक्छ। अन्यथा घमण्ड राखेको कांग्रेससँग तालमेलको सम्भावना अन्त्य भइरहेको छ।"

राजपा नेपाल र फोरमबीच तालमेल गर्ने सहमति भइसकेको छ।

गोरखामा नयाँ शक्ति पार्टी नेपालसँग तालमेल गर्ने सहमति यसअघि नै गरिसकेको नेपाली कांग्रेसले आफ्नो गठबन्धन अन्तर्गत राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग मिलेर उम्मेदवारहरुको टुंगो लगाउन लागेको बताइएको छ।

'सहमति'

नेकपा एमालेका एक नेता सुवासचन्द्र नेम्बाङका अनुसार एमाले र नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनले सिट बाँडफाँट साँझसम्म लगभग टुंग्याइसकेको छ।

नेता नेम्बाङका अनुसार प्रतिनिधिसभाका लागि एमालेका तर्फबाट ९७ र माओवादी केन्द्रबाट ६१ जना उम्मेदवार उठाउने सहमति भएको छ।

पाँचजना स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताएको वाम गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका एक र, आश्चर्यजनक रुपमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक उम्मेदवार रहने बताएको छ।

नेता नेम्बाङका अनुसार झापा र सम्भव भएसम्म मेची अञ्चलमैं राप्रपा र वाम गठबन्धनबीच एक अर्कालाई सघाउने सहमति भएको छ।