रोहिंज्या संकट: सू ची रखाइन प्रान्तमा

  • 2 नोभेम्बर 2017
आङ साङ सूची, म्यानमार तस्वीर कपीराइट AFP/GETTY

म्यानमारकी नेतृ आङ साङ सू ची हिंसाबाट प्रभावित रखाइन प्रान्त पुगेकी छन्।

सरकारी अधिकारीहरुले सू चीले एक दिने अघोषित यो भ्रमणका क्रममा क्षेत्रीय राजधानी सिट्वे र अन्य सहरहरुको भ्रमण गर्न लागेको बताएका छन्।

एक दिने यो भ्रमण यसअघि घोषणा गरिएको थिएन।

गत अगष्ट यता चार लाख भन्दा बढी रोहिंज्याहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।

आलोचना

रोहिंज्या मुसलमानहरुविरुद्धको सैन्य कारवाही नरोकेको भन्दै उनको आलोचना विश्व समुदायमा भएको थियो।

यसअघि म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले सूचीले त्यहाँका रोहिंज्या मुसलमान अल्पसंख्यकलाई सुरक्षा दिन विफल भएको भन्दै आलोचना गरेकी थिइन्।

रखाइन प्रान्तस्थित प्रहरी चौकीमा घातक हमलाहरु भएपछि उक्त क्षेत्र थप तनावग्रस्त बनेको थियो।

उक्त हमलाको दोष लडाकु समूह आराकन रोहिंज्या स्यालभेसन आर्मी (एआरएसए) माथि लगाइएको थियो।

सैन्य कारवाहीका क्रममा थुप्रै मानिसहरु मारिएका थिए र त्यहाँका थुप्रै गाउँहरुमा आगो लगाइएको थियो।

तस्वीर कपीराइट .

आरोप

म्यानमारको सेनाले आफ्ना कारवाहीहरु सर्वसाधारणमा नभइ लडाकुहरुमा लक्षित रहेको दोहोर्याएको छ।

सू चीले रोहिंज्याहरुको कुनै गाउँको भ्रमण गर्ने छिन् कि छैनन् भन्ने तत्काल स्पष्ट भएको छैन।

सेप्टेम्बरमा गरेको एउटा महत्वपूर्ण भाषणका क्रममा उनले अधिकारको हनन् भएको भन्दै रखाइनमा भएको हिंसाको निन्दा गरेकी थिइन्।

तर उनले सेनालाई आरोप लगाउने काम गरिनन् र जातीय सफायाको आरोपबारे पनि केही बोलेकी थिइनन्।