दोश्रो चरणको उम्मेदवारी दर्ताको 'तयारी पुरा'

  • 2 नोभेम्बर 2017
मनोनयन
Image caption दोश्रो चरणको चुनावका लागि मनोनयन दर्ता बिहीबार हुँदैछ

दोश्रो चरणको निर्वाचनमा ४५ जिल्लाबाट प्रतिनिधि सभामा १२८ र प्रदेश सभामा २५६ सांसद निर्वाचित हुनेछन्।

त्यसको निम्ति प्रतिस्पर्धामा उत्रिनेहरुको भविष्यको फैसला गर्ने मताधिकार पाएका मतदाताको संख्या १ करोड २० लाख छ।

मंसिर १० गते ३२ जिल्लामा हुने पहिलो चरणको चुनावमा प्रतिनिधि सभातर्फ ३२३ तथा प्रदेश सभाको लागि ४८४ जना मैदानमा उत्रिएका छन्।

निर्वाचन आयोगले मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको चुनावी मैदान बिहीबार खुला गर्दैछ।

आशंका

त्यसको निम्ति विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नु पर्नेछ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, "४५ जिल्लामा प्रतिनिधि सभा सदस्य तर्फ १२८ र प्रदेश सभाको २५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै छन्। त्यसको सम्पूर्ण तयारी पुरा भइसकेको छ।"

आयोगले दर्ता हुने उम्मेदवारको विरोधमा उजुरी लिने समय पर्सी तथा उजुरी उपर जाँचबुझको लागि अर्को एक दिनको समय छुट्याइएको छ।

उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह दिने काम कार्तिक १९ गते पुरा हुनेछ।

चुनावबारे प्रकट भएका अनेक आशंकाबीच निर्वाचन तालिका अघि बढाएको आयोगका प्रमुख आयुक्त यादवले त्यस्तो आशंका नलिन आग्रह गरेका छन्।

उनले भनेका छन्, "दुवै निर्वाचन निर्वाध रुपमा सम्पन्न गर्न हामी अगाडि बढिराखेका छौं। अब कतै कुनै पनि दुबिधामा हामी पर्नुहुँदैन।"

मुख्य-मुख्य दलबीच चुनावी गठवन्धन बनेकोले अघिल्ला चुनावको तुलनामा पहिलो चरणको निम्ति कम उम्मेदवारी परेको आयोगले जनाएको छ।

दोस्रो चरणमा त्यो अवस्था रहने उसको अनुमान छ।

तर गठबन्धन र सिट बाँडफाँटमा देखिएको सकस हेर्दा कतिपय दल उम्मेदवारी दर्ताको अन्तिम घडिसम्म उम्मेदवार चयनमा व्यस्त रहने संकेत देखिन्छ।