अधिकांश वरिष्ठ नेता प्रत्यक्षतर्फ उम्मेदवार

एक महिनापछि हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको चुनावको निम्ति सबै जसो दलका अधिकांश वरिष्ठ नेता पहिलो हुनेले जित्ने प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन्।

आयोगका पदाधिकारी
तस्बिरको क्याप्शन,

आयोगले उम्मेदवारी दर्ता उत्साहजनक रुपमा भएको जनाएको छ

४५ वटा जिल्लामा बिहीबार अबेर साँझसम्म उम्मेदवारी दर्ताको काम भएको निर्वाचन आयोगले जनाएको छ।

कतिपय जिल्लामा चुनावी गठबन्धन र पार्टीको आन्तरिक निर्णयप्रति असन्तुष्टि प्रकट भएको देखिएको छ।

उत्साह

मंसिर १० गते पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा प्रतिनिधि सभाका ३७ सांसदको निम्ति ३२३ तथा प्रदेश सभाका ७४ सांसदको निम्ति ४८४ जना मैदानमा उत्रिएका छन्।

मंसिर २१ गते हुने चुनावको निम्ति अबेर साँझसम्म दर्ता प्रक्रिया चलेको थियो।

बिहीबार उम्मेदवारी दर्ता गरेकाहरु मध्येबाट प्रतिनिधि सभामा १२८ र त्यसको दोब्बर प्रदेश सभामा २५६ सांसद निर्वाचित हुनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोश्रो चरणको चुनावका लागि कूल ४७०८ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधि सभाको निम्ति १७४२ र प्रदेश सभातर्फ २९६६ ले उम्मेदवारी दिएका छन्।

आयोगका प्रवक्ता ढकालले भने, "राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले उत्साहकासाथ मर्यादित ढंगले उम्मेदवारी दर्ता गराउनु भएको छ। साँझ ५ बजेभित्र निर्वाचन कार्यालयमा पुगेकाहरुले साँझसम्म उम्मेदवारी दर्ता गराउनु भएको छ।"

रोचक भिडन्त

झापामा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वाम गठबन्धनको साथ पाएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनबीच चुनावी भिडन्त हुने भएको छ।

गोरखामा कांग्रेसको साथ पाएका नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्द्धी बनेका छन्।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै पार्टीभित्रका पुराना प्रतिद्वन्द्वी मानिने नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारको रुपमा चुनौती दिएका छन्।

कांग्रेस नेता बिमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो धनुषाको क्षेत्र नम्बर ३ मा भिडेका छन्।

मोरङमा कांग्रेस नेता डा. शेखर कोइरालासंग डिभी तथा विदेशी पिआर विरुद्ध लडेर चर्चा कमाएका एमालेका पूर्वमन्त्री लालबाबु पण्डितको प्रतिष्पर्धा हुने भएको छ।

गणेशमान सिंह पुत्र तथा कांग्रेस नेता प्रकाशमान सिंह उम्मेदवार बनेको काठमाण्डूको क्षेत्र नम्बर १ मा नयाँ दलको रुपमा चर्चामा आएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि प्रतिस्पर्धामा छन्।

प्रमुख नेताको क्षेत्र

वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओली झापा र माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट उम्मेदवार बनेका छन्।

तस्बिरको क्याप्शन,

एमाले नेता लालबाबु पण्डित डिभी र पीआरधारी कर्मचारी र नेताविरुद्ध उभिएर चर्चामा आएका थिए

एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ इलाम, नेता माधवकुमार नेपाल र इश्वर पोखरेल काठमाण्डू तथा बामदेव गौतम बर्दियाबाट उठेका छन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दिएका छन्।

कांग्रेससँगको गठबन्धनमा रहेका राप्रपा अध्यक्ष कमल थापा मकवानपुर र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकबाट चुनावी प्रतिष्पर्धामा छन्।

आफ्नो पुरानै चुनावी क्षेत्र रोज्नेमा बीपी कोइरालाका पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला पूर्वी नवलपरासी र कांग्रेसका चर्चित युवा नेता गगन थापा काठमाण्डुबाट चुनावमा उत्रिएका छन्।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ रोजेका छन्।

मैदान बाहिर

प्युठान र बाग्लुङमा वाम गठबन्धनसँग सहकार्य गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक सूचीमा छन्।

समानुपातिक सूचीमा नरहेका माओवादी नेता रामबहादुर थापा र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे मैदानमा देखिएनन्।

नयाँ पुस्तालाई अवसर दिन बिजुक्छेले उम्मेदवारी नदिएको नेमकिपाकी नेतृ अनुराधा थापामगरले बीबीसीलाई बताइन्।

विगतमा इलामबाट चुनाव लडेका कांग्रेसका पुराना नेता केबी गुरुङ पनि प्रतिस्पर्धामा देखिएका छैनन्।

फरक छनौट

हालै कांग्रेसमा फर्किएका विजयकुमार गच्छदारले पहिले जस्तै सुनसरीबाट उम्मेदवारी दिएका छन्।

तर गत चुनावमा मोरङ र सुनसरीमा उठेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को सप्तरीको चुनाव क्षेत्र रोजेका छन् भने सो पार्टीका वरिष्ठ नेता अशोक राई सुनसरीबाट चुनाव लड्दैछन्।

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर र राजापकै अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारी महोत्तरीबाट उठेका छन्।

तस्बिरको क्याप्शन,

डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदैछ

पुरानो चुनावी क्षेत्र रहेको जिल्ला सर्लाही छाडेर नेताद्वय ठाकुर महोत्तरी र राजेन्द्र महतो धनुषा पुगेका हुन्।

राजापकै अध्यक्ष मण्डलका अन्य नेता राजकिशोर यादव सिरहा, महेन्द्रराय यादव सर्लाही र अनिलकुमार झा रौतहटमा चुनावी मैदानमा उत्रिएका छन्।

अचानक

चर्चामै नरहेका पूर्वसभामुख दमननाथ ढुंगाना लामो अन्तरालपछि कांग्रेसको उम्मेदवारको रुपमा भक्तपुरबाट उठेका छन्।

ठूलो चर्चा र विवादको केन्द्रमा परेका पूर्वप्रहरी नायव महानिरीक्षिक (डिआईजी) नवराज सिलवाललाई एमालेले ललितपुरमा उठाएको छ।

लोकतन्त्रको पुनर्स्थापनापछि मूल रुपमा संविधान निर्माणको जिम्मा पाएको संविधानसभाले पनि संसद्को जिम्मेवारी निर्वाह गरेका थिए।

त्यसलाई बाहेक गर्ने हो भने नियमित संसद्को चुनाव करिब २ दशकपछि हुन लगेको हो।

तर अघिल्लाभन्दा फरक नयाँ संसद् संघीय संरचना अन्तर्गतका हुनेछन्।

मुलुकका तीन प्रमुख दल मध्ये कांग्रेस एकातर्फ तथा एमाले र माओवादी केन्द्र अर्कोतर्फ गठबन्धन बनाएर भिडेकाले आसन्न चुनावप्रति चासो बढेको पाइन्छ।