‘मानवीय गतिविधिकै कारण जलवायु परिवर्तन’

  • 4 नोभेम्बर 2017
जलवायु तस्वीर कपीराइट Getty Images

अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ- 'मानवीय गतिविधि'ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ।

सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ।

उक्त अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाईसँग पनि विपरीत देखिएको छ।

'द क्लाइमेट साइन्स स्पेशल रिपोर्ट' लाई ह्वाइट हाउसले अनुमोदन गरेको हो तर अध्ययन प्रतिवेदनको निष्कर्ष जलवायु परिवर्तनसम्बन्धी राष्ट्रपति ट्रम्पको धारणासँग मिल्दैन।

उत्सर्जनका लक्ष्य भेट्न मुस्किल: राष्ट्रसंघ

कार्बन डाइअक्साइडको कीर्तिमान स्तर

वैकल्पिक

तर एउटा वक्तव्यमा ह्वाइट हाउसले भनेको छ- उसले 'सशक्त वैज्ञानिक विश्लेषण र बहसलाई सहयोग गर्दै आएको' छ।

अध्ययन प्रतिवेदन ५०० पृष्ठको रहेको छ र त्यसको निष्कर्ष छ- यो आधुनिक सभ्यताको इतिहासमै सबैभन्दा बढी गर्मी भएको समय हो।

तस्वीर कपीराइट Getty Images

खासगरी हरित गृह ग्यास उत्सर्जन जस्ता मानवीय गतिविधि नै जलवायु परिवर्तनको प्रमुख कारण भएको जस्तो देखिएको प्रतिवेदनले जनाएको छ।

अध्ययन प्रतिवेदनले भनेको छ, "यो भन्दा चित्तबुझ्दो अर्को कुनै वैकल्पिक व्याख्या रहेको छैन।"

सम्भावना

वैज्ञानिकहरु भन्छन्, "यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फीट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिंदैन।"

खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवं विनाशकारी आँधीहरु प्रायः आइरहने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

जलवायु परिवर्तनका कुराहरु झुटा भएको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई प्यारिस सम्झौताबाट अलग पारिसकेका छन्।

उनको कदमले प्रदूषण फैलाउन उद्योगहरुलाई सहज तुल्याएको बताइन्छ।