लोकतान्त्रिक गठबन्धन निर्माणमा सकस

  • 4 नोभेम्बर 2017
गठबन्धन तस्वीर कपीराइट PM SECRETARIAT
Image caption लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास चुनाव मनोनयन अघि सफल हुन सकेन

केही समयअघि हठात् वाम गठबन्धन बनेपछि त्यसलाई टक्कर दिन बनाउने भनिएको प्रस्तावित लोकतान्त्रिक गठबन्धनमा आंशिक सफलता मिलेपनि तराई केन्द्रित मुख्य दलहरु भने समाहित हुन सकेनन्।

खासगरी तराई केन्द्रित दलहरुसँगको गठबन्धन प्रयास चुनौतीपूर्ण बनेको नेपाली कांग्रेस र तराई केन्द्रित दुवै पक्षका नेताहरुले बताएका छन्।

नेपाली कांग्रेसका कारण चुनावी तालमेलको सम्भावना सकिएको राजपाका एक नेताले बताए।

कांग्रेसका नेताले चाहिँ तराई केन्द्रित दलहरुबाट आकांक्षी धेरै हुँदा माग सम्बोधन गर्न गाह्रो परेको प्रतिक्रिया दिएका छन्।

आकांक्षी

सरकारमै रहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले आकस्मिक रुपमा गठबन्धन बनाएपछि एक्कासी चुनावी रणनीति फेर्न बाध्य देखिएको नेपाली कांग्रेसले लोकतान्त्रिक खेमाका भनिने तराई केन्द्रित दलहरु र अन्य समेटेर गठबन्धन बनाउने भनेको थियो।

तर चुनावी भागबण्डामा दुवै पक्षका अडान तथा कांग्रेसमा मिल्न पुगेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको समूहका नेतालाई ठाउँ दिनुपर्ने बाध्यता जस्ता कारणले गठबन्धन निर्माणमा चुनौती थपिएको कांग्रेस नेताहरुले बताएका छन्।

कांग्रेस नेता बालकृष्ण खाँणले भने, ''छ वटा पार्टी मिलेर बनेको उहाँहरुको पार्टीको कार्यसमितिमा थुप्रै नेताहरु उम्मेदवारको आकांक्षी हुनुहुँदो रहेछ। उहाँहरुलाई १४ वटै सिट दिँदा पनि सबैलाई समेट्न सक्ने अवस्था देखिएन। अब सहयोगको आदानप्रदान गर्नुपर्नेछ भने हामीहरु छलफल गरौंला भन्ने हिसाबले नयाँ चरणमा प्रवेश गरेर हामीले छुट्टाछुट्टै उम्मेदवारी दिएको हो।''

गत बिहीवार मंसिर २१ गतेका निम्ति तय भएको दोस्रो चरणको निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन हुनु अघिसम्म तालमेलको प्रयास राखेका ती दलहरुले अन्तत: आ-आफ्नै उम्मेदवारहरुको मनोनयन दर्ता गराए।

'धोका'

तर त्यसअघिसम्म उनीहरुले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिने, दुवै पक्षका ठूला नेताहरुलाई जिताउन मद्दत गर्ने र विगतका निर्वाचनका आधारमा जहाँ जसले राम्रो सम्भावना बोकेको छ त्यहाँ त्यसैलाई छाड्ने सैद्धान्तिक सहमति भएको नेताहरु नै बताउँछन्।

नेपाली कांग्रेस अनुदार देखिएका कारण ती प्रयास खेर गएको राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए।

उनले भने, ''लोकतान्त्रिक गठबन्धनका नाममा नेपाली कांग्रेसले हामीलाई धोका दियो। अन्तिम समयसम्म झुलाएर राख्यो। र हामी कुरेर बस्दा बस्दै पचासौं पटकसम्म नेपाली कांग्रेसकहाँ पुग्यौं। एक्लै सबै ठाउँमा सिट लिने र अरुको महत्व र अस्तित्व स्वीकार नगर्ने सोच र शैलीको साथ व्यवहार गरेकोले लोकतान्त्रिक गठबन्धन असफल गराउनमा नेपाली कांग्रेसले अहम् भूमिका खेल्यो।।"

तर नेपाली कांग्रेसका नेताहरुले चुनावी भागवण्डा नमिलिसकेको भए पनि लोकतान्त्रिक गठबन्धनको प्रयास कायमै रहेको र आआफ्नै ढङ्गले उम्मेदवारी दिए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन्।