गोविन्दराज जोशीको उम्मेदवारी 'खारेज'

  • 4 नोभेम्बर 2017
जोशी तस्वीर कपीराइट .
Image caption जोशी उम्मेदवारी दर्तापछि प्रचार प्रसारमा जुटेका थिए

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ।

उनीविरुद्धको उजुरीमाथि जाँचबुझ गरी निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय लिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बीबीसीलाई जानकारी दिए।

विशेष अदालतबाट उनीविरुद्धको भ्रष्टाचारको आरोप सिद्ध भएको थियो।

जोशीविरुद्ध रामचन्द्र पौडेलले दिएको उजुरीबारे जिल्ला निर्वाचन कार्यालय तनहुँले छिनोफानो गर्न नसकेपछि निर्वाचन आयोगमा पठाएको थियो।

तर्क

आयोगको निर्देशन अनुसार उनको मनोनयन रद्ध गर्ने निर्णयमा जिल्ला निर्वाचन कार्यालय पुगेको हो।

शनिबार साँझ उक्त निर्णय लिएपछि तनहुँ जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले बीबीसीसँग भने, "गोविन्दराज जोशीले नैतिक पतन देखिने भ्रष्टाचारमा विशेष अदालतबाट सजाय पाएको देखियो। त्यसैले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार उहाँको मनोनयपत्र बदर हुने निर्णय भएको छ।"

तर जोशीले विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले गरेको पुनरावेदन विचाराधीन रहेकाले आफ्नो उम्मेदवारी कानून सम्मत रहेको दावी गर्दै आएका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा 'फैसला अन्तिम भएको' भन्ने वाक्यांश उल्लेख भएकाले आफ्नो मुद्दाको अन्तिम किनारा लाग्न बाँकी रहेको जोशीको जिकिर छ।

अरु पनि

जोशीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएको तनहुँको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

आयोगले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहारको नाम समानुपातिक सूचीमा पनि परेको देखिएको भन्दै उनको उम्मेदवारी रद्ध गरेको छ।

त्यस्तै मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का नसरुल मियाँ, कास्की क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ का टिकाराम पंगेनी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर २ का ऋषिराम पौडेलको उम्मेदवारी पनि रद्ध भएको छ।

काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ५ का विदुरप्रसाद दाहालको मनोनयपत्र रित नपुगेको भेटिएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ।