सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध

  • 4 नोभेम्बर 2017

अफगानिस्तानमा दुईवटा लोकप्रिय सन्देशवाहक इन्टरनेट सेवामा रोक लगाएपछि त्यहाँका पत्रकार, सञ्चार समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारमाथि नियन्त्रणको नीति लिएको आरोप लगाएका छन्।

तस्वीर कपीराइट PA

अधिकारीहरुले सुरक्षाका कारण ह्वाट्सयाप र टेलिग्राममाथि अस्थायी प्रतिबन्धको आदेश दिइएको बताएका छन्।

अफगानिस्तानमा सन्देशवाहक इन्टरनेट सेवा- खासगरी ह्वाट्सयाप- अहिले निकै लोकप्रिय छ।

तर यो साता सरकारले टेलिग्रामसहित त्यसमा २० दिने प्रतिबन्ध लगाएको छ।

क्रुद्ध

अधिकारीहरुले भनेका छन्, "सुरक्षाका कारण त्यसो गर्नु परेको हो।"

तर पछिल्लो निर्णयबाट वरिष्ठ पत्रकार र मिडिया स्वतन्त्रता समूहहरु क्रुद्ध बनेका छन्।

देशको एउटा ठूलो समाचारपत्रका प्रधानसम्पादक पर्विज कावाले वर्षौ लामो नियन्त्रणपछि अफगानिस्तान खुला समाज भएको उल्लेख गर्दै सामाजिक सञ्जालमाथिको कुनै खालको प्रतिबन्ध सह्य नहुने बताए।

उनले भने, "यदि तालिबान वा अरुले ती सेवाको प्रयोग गरिरहेका छन् भने कसले प्रयोग गरेको छ, त्यो पत्ता लगाउनु पर्छ, प्रतिबन्ध लगाउने होइन। अफगानिस्तानको विकासको यो विन्दुमा त्यो निकै संवेदनशील कुरा हो।"

गुनासो

त्यसलाई पश्चगामी कदमको संज्ञा दिँदै उनले त्यसको विरोध गरिने बताए।

रोक लगाउने निर्णय भने लागू भएको कुनै प्रमाण देखिएको छैन।

यसै साताको पूर्वार्द्धमा दूरसञ्चार सेवाको नियामक निकायका अधिकारीहरुले सेवाप्रदायकहरुलाई अस्थायी रोक लगाउन लेखेको पुष्टि गरेका छन्।

कार्यवाहक सञ्चारमन्त्री शहजाद अर्योबीले पनि फेसबुकमा एउटा सन्देश लेख्दै असंख्य गुनासोहरु प्राप्त भएपछि नियामक निकायलाई प्रविधिक समस्या सुल्झाउन सन्देशवाहक सेवामा क्रमिक रोक लगाउन आदेश दिइएको जनाएका छन्।

उनले लेखेका छन्, "सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छ र यो हाम्रा जनताको आधारभूत नागरिक अधिकार हो भन्ने पनि जान्दछ।"

तस्वीर कपीराइट .
Image caption तालिबानले पनि आफूबीचको सामूहिक सन्देश आदानप्रदान र सामाजिक सञ्जाल परिचालनमा पनि त्यसको प्रयोग गर्ने बताइन्छ

व्यापक प्रयोग

सन् २००१ मा अमेरिकी नेतृत्वमा सैन्य कारबाही शुरु भएयता अफगानिस्तानमा भएका सकारात्मक विकासमध्ये मोबाइल सेवाको विस्तारलाई पनि एक मानिन्छ।

तर मोबाइलको 'नेटवर्क' र आवाजको स्पष्टताबारे प्रयोगकर्ताहरुले बारम्बार गुनासो गर्दै आएका छन्।

ह्वाट्सयाप, फेसबुक म्यासेन्जर र भाइबर अफगान नागरिक र तिनका राजनीतिज्ञहरुले व्यापक रुपमा प्रयोग गर्छन्।

तर तालिबानले पनि आफूबीचको सामूहिक सन्देश आदानप्रदान र सामाजिक सञ्जाल परिचालनमा पनि त्यसको प्रयोग गर्ने बताइन्छ।