अढाई सय उम्मेदवार चुनावी मैदान बाहिर

  • 5 नोभेम्बर 2017
निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभाको चुनावका लागि पहिलो हुनेले जित्ने प्रणालीतर्फ करिब साढे ४ हजार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।

गत बिहीबार मनोनयन दर्ता गराएका ४७ सयभन्दा बढी उम्मेदबार मध्ये साढे २ सयजतिले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

आफ्नै पार्टी वा गठवन्धनका नाम चलेका नेताविरुद्ध बागी उठेका कतिपयले नाम फिर्ता लिएका छन्।

यसैगरी अन्य पार्टीका शीर्ष नेतालाई सघाउन भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिनेहरु पनि देखिएका छन्।

सहयोग

महोत्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उठेका बजरंग नेपाली पार्टीको आग्रहमा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सघाउन भन्दै चुनावी मैदानबाट पछि हटेका छन्।

कैलाली क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुविरुद्ध बागी उठेका कांग्रेसकै विद्यार्थी नेता र कांग्रेससँग नजिक रहेका राप्रपा र नयाँ शक्ति पार्टीका उम्मेदवारले पनि आ-आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

त्यस्तै सुनसरी क्षेत्र नम्बर ४ मा संघीय समाजवादी फोरमले अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई सघाउन भन्दै आफ्ना उम्मेदवारलाई पछाडि सारेको बताइएको छ।

बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमविरुद्ध बागी उम्मेदवारी दिएका खड्गबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको उक्त पार्टीका एकजना नेताले जनाएका छन्।

फिर्ता लिएका उम्मेदवारहरुको संख्याबारे निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ''अहिलेसम्म हामीलाई प्राप्त भएको विवरण अनुसार कुल कायम उम्मेदवारमध्ये २६५ जना व्यक्तिको नाम उम्मेदवारको सूचीबाट हटेको छ। यसरी हट्नुको कारणमध्ये केही उम्मेदवारी रद्द भएका छन् केही उम्मेदवारी दावीविरोधबाट खारेज भएको छ र २५९को उम्मेदवारी भने आफैले फिर्ता गर्नुभएको अवस्था छ"।

Image caption चुनावका लागि निर्वाचन सामाग्रीहरुको ढुवानी तीव्र पारिएको छ

अवज्ञा

कतिपय बागी उम्मेदवारहरुले दलबाट कडा कारबाहीको चेतावनी पाएपनि उम्मेदवारी फिर्ता लिएनन्।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उनकै दलसँग गठजोड बनाएको राजपाका जयप्रकाश ठाकुरले दिएको उम्मेदवारी फिर्ता नलिएको बताइएको छ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनअघि चार हजार बढी मनोनयनमध्ये केहीमा परेका उजुरी जाँचबुझ गरी मनोनयन फिर्ता लिन आज दिउँसो सम्म समय दिइएको थियो।

आयोगले आइतबारै सबै उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराएको प्रवक्ता ढकालले बताए।

उनले भने, ''अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह दिने कार्यक्रम शान्तिपूर्ण र मर्यादित रुपले सम्पन्न भइसकेको छ। जो उम्मेदवार अहिले कायम हुनुभएको छ उहाँहरु सबैले स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त गरिसक्नुभएको छ।''

आयोगले शनिबार तनहुँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीसहित छ जनाको उम्मेदवारी खारेज गरेको थियो।