वाम गठबन्धनको जवाफ: कांग्रेसनै 'अलोकतान्त्रिक'

  • 7 नोभेम्बर 2017
वाम गठवन्धन
Image caption एमाले र माओवादी केन्द्रले लोकतन्त्रिक मूल्यमान्यताप्रतिको प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेका छन्

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले वाम गठवन्धनको आवरणमा कम्युनिष्ट अधिनायकवाद ल्याउन खोजिएको भनी लगाएको आरोपको कडा प्रतिवाद गर्दै नेकपा एमाले र माओवादी केन्द्रले लोकतन्त्रिक मूल्यमान्यताप्रतिको प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेका छन्।

आसन्न संघीय र प्रादेशिक चुनावका लागि मंगलबार जारी साझा घोषणापत्रमा ती दलले, उल्टै नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै उसले अग्रगमनको यात्रा रोक्न खोज्ने प्रवृत्तिको नेतृत्व गरिरहेको आरोप लगाए।

साझा घोषणापत्रमा छिमेकसँगको सम्बन्ध सन्तुलित बनाउनेदेखि लिएर मुलुकलाई आगामी पाँच वर्षमा विकासशील राष्ट्रको पंक्तिमा उभ्याउने जस्ता महत्वकांक्षी ठानिएका योजना अघि सारिएका छन्।

तस्वीर कपीराइट PM SECRETARIAT
Image caption कांग्रेसले वाम गठवन्धनले 'अधिनायकवाद' ल्याउन खोजेको आरोप लगाउँदै आएको छ

आक्रोश

नेपाली कांग्रेसले आफूहरुको चर्को आलोचनासहित घोषणापत्र जारी गरेको ठ्याक्कै एकसातापछि त्यस्तै प्रयोजनका लागि मंगलबार भेला भएका एमाले र माओवादी केन्द्रका शीर्ष नेता, उक्त सत्तासीन दलको आरोपको कडा खण्डनमा उत्रिएका देखिए।

लोकतन्त्रप्रति आफूहरुको निष्ठा रहेको र त्यसमा अनावश्यक प्रश्न उठाइएको भन्दै एमाले अध्यक्ष केपी ओलीले आक्रोश पोखे।

उनले भने, "पहिले एमाले-माओवादीले सरकार चलाउँदा खैलाबैला नहुने अहिले एकैठाउँमा उभिए भन्दा पैताला बजार्ने अनि कपाल तान्ने काम गरेर हुन्छ। मिल्दा लोकतन्त्र बलियो हुन्छ कि झगडा गर्दा?"

गठवन्धनका उनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो चुनावी सभामा जस्तो कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत त भएनन् तर उनले आफूहरु शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादतिरको यात्रामा जान खोज्दा त्यसबारे भ्रम छर्ने प्रयास भएको तर्क गरे जुन कांग्रेसप्रति लक्षित थियो।

उनले भने, "कसैप्रति गालीगलौजमा हामी उत्रन चाहन्नौं। हाम्रो गठवन्धनको विरोध गर्ने पक्ष पनि मत मिल्नेसँग एकैठाउँमा उभिएको देख्न चाहन्छौं। त्यसो भयो भने मुलुकमा स्थायित्व आउँछ"।

तस्वीर कपीराइट Getty Images
Image caption वाम गठवन्धनले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्ने घोषणा गरेको छ।

'स्वार्थ'

वाम गठवन्धनको साझा घोषणापत्रमा कांग्रेसले बनाउन खोजेको गठवन्धनप्रति लक्षित गर्दै उसले अग्रगमनको यात्रा रोक्ने गरी विभिन्न शक्तिलाई गोलबद्ध पार्ने प्रयास गरिरहेको आरोप लगाइएको छ।

भारततर्फ इंगित गर्दै घोषणापत्रमा 'विशेष सम्बन्ध'को नाममा कांग्रेसले छिमेकी देशहरुसँगको सम्बन्धलाई असन्तुलित बनाएको तर्क गरिएको छ।

उत्तरी छिमेकी चीनसँग निकट रहेको भनी आफूहरुमाथि लाग्ने गरेको आरोपको जवाफजस्तो प्रतीत हुने टिप्पणीमा एमाले अध्यक्ष ओलीले भने, "भारत-चीनसँग हामी सन्तुलित सम्बन्ध कायम राख्नेछौं। दुवै छिमेकी मुलुकसँगको सम्बन्ध क्षणिक स्वार्थका लागि बिगार्न खोजे पनि त्यो प्रयास सफल हुनेछैन"।

घोषणापत्रमा १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउनेदेखि लिएर पाँच वर्षमा पूर्वपश्चिम रेलमार्ग र १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन जस्ता महत्वकांक्षी ठानिएका योजना अघि सारिएका छन्।

वाम गठवन्धनले घोषणापत्र सार्वजनिक गरेकै दिन कांग्रेससँग चुनावी सहकार्य गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था स्थापनाको लक्ष्यसहित आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ।

पार्टी स्थापनाताका संवैधानिक राजसंस्था आफ्नो कार्यदिशा बनाएपनि कमल थापा अध्यक्षताको उक्त दलले बीचमा त्यसमा पुनर्विचारको संकेत गर्दै हिन्दुराष्ट्रमा मात्रै जोड दिएको भन्दै कट्टर राजतन्त्र पक्षधरले आलोचना गर्ने गर्दथे।