सामान्य नागरिक सरह विष्टको अन्त्येष्टि

  • 11 नोभेम्बर 2017
विष्ट

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको सामान्य नागरिक सरह पशुपति आर्यघाटमा शनिवार अन्त्येष्टि गरिएको छ।

विष्टको ९० वर्षको उमेरमा शनिवारै बिहान काठमाण्डूस्थित आफ्नै निवासमा निधन भएको थियो।

पञ्चायतकालको उत्तरार्द्धदेखि सक्रिय राजनीतिबाट टाढिएका विष्टलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा सत्ता हातमा लिएर बनाएको आफ्नो नेतृत्वको सरकारमा विष्टलाई एकजना उपाध्यक्ष बनाएका थिए।

ज्ञानेन्द्र शाहका पिता राजा महेन्द्रले विष्टलाई करिब तीन दशकअघि प्रधानमन्त्री बनाएका थिए।

"पश्चाताप छैन"

राजा ज्ञानेन्द्रको सक्रिय शासन अन्त्यसँगै पुन: राजनीतिक जीवन बिट मारेका विष्ट शनिबार सदाका निम्ति बिदा भएका छन्।

पछिल्लो दशक काठमाण्डूको ज्ञानेश्वरस्थित आफ्नो 'सामान्य' घरको चौघेराभित्र उनले आफ्नो जिन्दगीका अन्तिम दिन बिताइरहेका थिए।

त्यसैक्रममा डेढ वर्षअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले सक्रिय शासन गर्ने राजा ज्ञानेन्द्रको तत्कालीन कदमलाई समयले गलत सावित गरिदिएको टिप्पणी गरेका थिए।

'त्यसको अर्थ त्यो भूलको राजनीतिक सहयात्री बन्न पुगेकोमा पश्चाताप छ?'

उनको जवाफ थियो, "मलाई कुनै पश्चाताप छैन। हैन म त्यो भूल मान्दिनँ, केही गरौं देशलाई भन्ने राजाको आशय पक्कै पनि हुँदो हो। सही कुरा गर्दा पनि गलत समयमा भयो भने त्यसको परिणाम अकल्पनीय हुन्छ भन्ने कुरा प्रमाणित भएको मात्र हो।"

नैतिक उदाहरण

गणतन्त्र स्थापनापछि आफूलाई 'अछुत' जस्तो व्यवहार गरिएको उनको अनुभव थियो।

कतिपयले प्रजातन्त्र हरण गर्ने दुईजना राजा महेन्द्र र ज्ञानेन्द्रको कदमको सारथी बनेको भन्दै विष्टको आलोचना गर्छन्।

अन्तर्वार्तामा विष्टले राजाको सक्रिय शासनलाई सघाएकोमा आफूले लिनुपर्ने जिम्मेवारीबाट पन्छिन आफूलाई नैतिकताले नदिने बताएका थिए।

सिंहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री पद त्याग गर्ने उनको निर्णयलाई नैतिकताको उदाहरणको रुपमा लिइन्छ।

सामान्य अन्त्येष्टि

राजा महेन्द्रको शासनकालमा उनी प्रधानमन्त्री हुँदा चीनसँगको नेपाली सीमामा रहेका भारतीय सैनिक जाँच चौकी हटाइएको घटनाको आलोचकहरुले समेत प्रशंसा गर्छन्।

एमाले अध्यक्ष केपी ओलीले दिवंगत विष्टलाई 'राष्ट्रवादी' नेताको श्रेणीमा राखेका छन्।

पूर्व प्रधानमन्त्री विष्टको अन्त्येष्टि उनकै इच्छा अनुसार नै सामान्य नागरिक सरह गरिएको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले 'इमानदारी र सरलताको प्रतीक' भन्दै उनको निधनप्रति दु:ख व्यक्त गरेका छन्।