आइएस नियन्त्रित अन्तिम शहर फिर्ता लिन कारबाही

  • 11 नोभेम्बर 2017
आइएस तस्वीर कपीराइट AFP

इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको अन्तिम इराकी नगर रावाबाट उसलाई हटाउन इराकी सेनाले कारबाही थालेको छ।

गत साता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा र केही साना क्षेत्रमामात्रै उसको पकड छ।

रावालाई फेरि नियन्त्रणमा लिन भनी शनिबारदेखि शुरु भएको सैन्य कारबाहीले जिहादी समूहलाई इराकमा पूर्ण पराजयको संघारमा पुर्‍याउने ठानिएको छ।

कडा

स्थलगत सेनाको दुई समूह र सुन्नी जातीय फौज कारबाहीमा संलग्न रहेको बताइएको छ।

उनीहरुलाई लडाकु विमानहरुले पनि सहयोग गरिरहेको जनाइएको छ।

रावा इराक र सिरियाको सीमामा पर्ने केही नगर मध्ये एक हो जसलाई आइएसले आफ्नो स्वघोषित प्रान्तका रुपमा हेर्थ्यो।

इराक र सिरियाबीच उसका लडाकुको आउजाउ तथा हतियार र सामाग्रीको ओसारपोसारका लागि यसको प्रयोग हुने गर्थ्यो।

कारबाही

आइएसलाई इराकमा पहिले उसले नियन्त्रण जमाएको ९५ प्रतिशत हिस्साबाट धपाइसकिएको सुरक्षा फौजको भनाइ छ।

४४ लाख इराकीलाई उनीहरुको शासनबाट स्वतन्त्र पारिसकेको अमेरिकाले नेतृत्व गरेको गठबन्धले बताएको छ।

यसअघि इराक र सिरियामा ब्रिटिश हवाई आक्रमण हेरिरहेका एक वरिष्ठ सैन्य अधिकारीले आइएससँग 'राज्यको स्वरुपमा रहन अब केही महिनामात्रै बाँकी रहेको' बताएका थिए।

तर लण्डनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्का उच्चसैनिक अधिकारी जोनी स्ट्रिङ्गरले आइएस विद्रोही संस्थाको रुपमा विकास हुनसक्ने र उसले दुवै देशमा हमला गर्ने प्रयास गर्नसक्ने बताएका छन्।