क्याटलोनिया: ‘चुनावबाट पृथकतावादी संकट अन्त्य’

  • 12 नोभेम्बर 2017
क्याटलोनिया तस्वीर कपीराइट Reuters

स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले आगामी महिना क्याटलोनियामा हुने क्षेत्रीय चुनावले 'पृथकतावादी संकट' अन्त्य गर्ने बताएका छन्।

क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेयता पहिलोपटक त्यहाँ पुगेका उनी एउटा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थिए।

बार्सिलोनामा आफ्नो निर्णयको बचाउ गर्दै उनले क्याटलान सरकारको एकतर्फी स्वतन्त्रता घोषणापछि आफूले 'सबै उपायहरु समाप्त' पारिदिएको बताए।

संकट

स्वतन्त्रता घोषणापछि कैयौं प्रमुख क्याटलान नेताहरु अहिले हिरासतमा छन्।

ती गिरफ्तारीविरुद्ध साढे ७ लाख जति मानिसले शनिबार बार्सिलोनामा प्रदर्शन गरेको स्थानीय प्रहरीले अनुमान गरेको छ।

स्पेनी अदालतहरुले रोक लगाएको विवादास्पद जनमत संग्रह गत अक्टोबरमा गराइएपछि संकट उत्पन्न भएको थियो।

चुनावी अभियानको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री राखोइले 'अव्यक्त बहुमतलाई आफ्नो आवाज मतमा बदल्न' आह्वान गरे।

फिर्ता

उनले भने, "पृथकतावादको कहरबाट क्याटलोनियालाई हामीले फिर्ता ल्याउनुपर्छ। हामी प्रजातन्त्रमार्फत सबैका लागि क्याटलोनियालाई फिर्ता ल्याउन चाहन्छौं"।

उनले आफ्ना दलका समर्थकहरुलाई सही परिणामले स्पेनको आर्थिक वृद्धिदर अर्कोवर्ष ३ प्रतिशत नाघ्ने बताए।

कम्पनीहरुलाई क्याटलोनिया नछाड्न पनि उनले आग्रह गरे।

स्पेनी अर्थतन्त्रको पाँच भागको एक भाग क्याटलोनियाले ओगट्दछ।