इरान-इराक भूकम्पः दोस्रो रात पनि पीडितहरु घरबाहिरै

  • 14 नोभेम्बर 2017
भूकम्प तस्वीर कपीराइट EPA

एक दशकयताकै विध्वंसकारी भूकम्पपछि इरानमा हजारौं प्रभावितहरु चिसोका बावजुद सुरक्षित स्थानमा जम्मा भएर रात बिताइरहेका छन्।

भूकम्पमा परी चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब सात हजार घाइते भएका छन्।

७ दशमलव ३ म्याग्निच्युडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षति पुर्‍याएको छ।

उद्धारकर्मीहरुले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनि जारी राखेका छन्।

इराक-इरान भूकम्प: उद्धार प्रयास तीव्र

राष्ट्रिय शोक

इरानी सरकारले मंगलवार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

इरानमा गएको आइतवारको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो।

इराकको सीमादेखि १५ किलोमिटर टाढा पर्ने इरानको पश्चिमी शहर सारपोल-ए-जाहब र केर्मान्शाह प्रान्तका अरु क्षेत्रमा सबैभन्दा बढी मान्छेले ज्यान गुमाएका छन्।

तस्वीर कपीराइट EPA

सरकारी टेलिभिजनका अनुसार उक्त शहरको प्रमुख अस्पतालमा नराम्ररी क्षति पुगेको छ जसका कारण घाइतेहरुको उपचार गर्न अस्पतालले निकै संघर्ष गर्नुपरेको छ।

इरानी सञ्चारमाध्यमहरुका अनुसार एकजना महिला र उनको बच्चालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

आश्रय

एउटा रेडियो स्टेशनले सामाजिक सञ्जाल ट्वीटरमा राखेको सर्वसाधारणद्वारा खिचिएको भिडिओमा शहरका धेरै भवनहरु ढलेको देखिन्छ।

एउटा सहायता निकायका अनुसार भूकम्पपछि ७० हजार मानिसलाई आश्रय चाहिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका एकजना प्रवक्ताद्वारा जारी वक्तव्यमा 'आवश्यक परे सहयोग गर्न राष्ट्रसंघ तयार रहेको' उल्लेख गरिएको छ।

तस्वीर कपीराइट EPA

इरानी सेनाका कमाण्डर-इन-चिफले सरकारी समाचार च्यानल आइआरआइएनएनलाई बताए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुमा केही सैनिक र सीमारक्षक पनि रहेका छन्।

सन् २००३ मा इरानको दक्षिण-पूर्वी ऐतिहासिक शहर बाममा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २६ हजार मानिसले ज्यान गुमाएका थिए।