मेद्वारा रुसमाथि चुनावी हस्तक्षेपको आरोप

  • 14 नोभेम्बर 2017
मे पुटिन तस्वीर कपीराइट AFP

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले रुससम्बन्धमा हालसम्मकै सबैभन्दा कडा टिप्पणी गर्दै मस्कोले चुनावहरुमा हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छन्।

उद्योगी व्यवसायीहरुको एउटा भेलालाई लण्डनमा सम्बोधन गर्दै उनले भ्लादिमिर पुटिनको सरकारले "खुला समाजहरुलाई कमजोर बनाउन खोजेको" बताइन्।

उनले रुसी सरकारले "पश्चिमा जगतमा फुटको बीजारोपण" गर्न "झुटा समाचार फैलाएको" तर्क गरिन्।

संरक्षण

तर उनले रुससँग ब्रिटेनले "निरन्तरको मुठभेड" नचाहेको बताइन्।

तथापि उसले आफ्नो स्वार्थको संरक्षण गर्ने जनाइन्।

उनको टिप्पणी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धारणाभन्दा बिल्कुल फरक छ।

ट्रम्पले सन् २०१६को राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको भन्ने पुटिनको भनाइमा आफूले विश्वास गरेको गत साता बताएका थिए।

ब्रिटिश विदेशमन्त्री बोरिस जनसन अर्को महिना रुस भ्रमणमा जाँदैछन्।